धरानमा बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने



धरान । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति प्रसिद्ध साहित्यकार तथा मुन्धुमविद् बैरागी काइँलालाई धरानमा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन बेलायत स्थित नेपाली प्रतिभा प्रतिष्ठानले गर्न लागेको हो ।

आउँदो चैत ४ गते महिला समूहको नौमती बाजा सहित सांस्कृतिक झाँकीका बिच काइँलालाई नगर परिक्रमा गराई धरान(१० स्थित सैनिक भवनमा अभिनन्दन समारोहमा अभिनन्दित गरिने प्रतिष्ठानका अध्यक्ष गणेश राईले बताए ।

अनुसार वैरागी काइँलालाई नेपाली कविता एवं याक्थुङ मुन्धुमको खोज अन्वेषण, लेखन, अनुवादमा पुर्‍याएको अतुलनीय योगदान बापत नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको हो । वैरागी काइँला नेपाली साहित्यमा तेस्रो आयामेली आन्दोलनका कविका रूपमा प्रसिद्ध छन् । उनका आयमेली कविताहरू वैरागी काइँलाका कविताहरूु, अन्धा मान्छेहरू र हात्तीु कृतिमा प्रकाशित छन् ।

काइँलाले ‘फूल पात पतकर’, ‘तेस्रो आयाम’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्रीस् लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली-अङ्ग्रेजी शब्दकोश’, ‘किरात मिक्हन साम्लो’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’,लगायतको सम्पादन गरेका छन् ।

काइँलाका मुन्धुम अध्ययन अनुसन्धानका कृतिहरू दर्जन बढी छन् । लिम्बू र नेपाली भाषामा ‘साप्पोःक् चोमेनः लिम्बू जातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुम स् प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम स् ईर्ष्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम स् मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम स् आख्यान र अनुष्ठान’ उनका महत्त्वपूर्ण कृतिहरू हुन् ।
यस्तै ‘चइःत् मुन्धुमस् सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि(केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना(सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ गरी मुन्धुमका दर्जन कृति प्रकाशित छन् ।

उनको सह लेखनमा ‘लिम्बू व्याकरणस् याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःनः लिम्बू व्याकरण’ पनि प्रकाशित छन् । वैरागी काइँलाले बुवा सुब्बा खड्गबहादुरले लेखेका ‘किरात मिक्हन साम्लो स् किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद पनि गरेका छन् ।

नेपाली साहित्यको उच्च सम्मान जगदम्बा श्री पुरस्कारबाट सम्मानित भैसकेका काइँला साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न(शोभा(शुभलक्ष्मी मुन्धुम पुरस्कार, राष्ट्रिय कला श्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री(सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कारबाट समेत सम्मानित भएका छन् ।
सोही अवसरमा नेपाली प्रतिभा प्रतिष्ठानले सङ्गीत साधक, गायक दीप श्रेष्ठलाई नगद ५० हजार रुपैयाँको प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई नगद १ लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । समारोहमा झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र उपत्यकाका करिब ३ सय साहित्यकारहरु जमघट हुने प्रतिष्ठानका उपाध्यक्ष टङ्क वनेमले बताए ।

सम्बन्धित समाचार