विश्व बैंक डाईरेक्टर सहितको मन्त्रीस्तरिय टोलीद्वारा माथिल्लो अरुण परियोजनाको अवलोकन



सङ्खुवासभा । विश्व बैंकको मेनेजिङ डाईरेक्टर सवाईन बर्नावे सहित नेपाल सरकारको मन्त्री स्तरिय टोलीले सङ्खुवासभाको भोटखोलामा निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत परियोजनाको अनुगमन गरेका छन् । जिल्लाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाट क्षमताको परियोजनाको स्थलगत अवलोकन गरेका हुन् ।

हेलिकप्टरबाट परियोजनाको विद्युत गृह र बाँध निर्माण क्षेत्रको अवलोकन गरेका हुन् । काठ्माण्डौबाट हेलिकप्टरमा पुगेको टोलीले सुरुमा विद्युत गृह निर्माण स्थल छोङ्राङ्मा स्थलगत अवलोकन गरेका थिए । त्यसपछि टोली बाँध निर्माण स्थल लिङ्गम पुगेर स्थलगत अवलोकन गरि स्थानीय जनप्रतिनीधि र नागरिकहरुसँग भेट गरेका थिए । टोलीलाई स्थानीयले स्वागत गर्दै विभिन्न मागहरु राखेका थिए ।

निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्यत परियोजनामा स्थानीय र जिल्लावासीले चाहेजत्ति शेयर लगानी गर्न पाउनु पर्ने माग राखेका थिए । शेयरमा लगानीसँगै त्यस क्षेत्र र जिल्लावासीलाई नै रोजगारीमा पहिलो प्राथमिकता दिनु पर्ने भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले माग राख्नुभएको थियो ।

टोलीमा सहभागी भएर निर्माण क्षेत्रमा पुग्नुभएका सङ्खुवासभाबाट निर्वाचित प्रतिनीधि सभा सदस्य तथा संघीय साँसद दीपक खड्काले परियोजनामा लगानी गर्न जिल्लावासीलाई बैंकबाट सौलियत ब्याजदरमा ऋणको ब्यवस्था गर्नु पर्ने माग राख्नुभयो । जिल्लावासी सवैले समान रुपमा लगानी गर्न नसक्ने भएकोले राज्यले नै ऋणको ब्यवस्था गरिदिनु पर्ने माग राख्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै उर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले हाल सरकार मुख्य लगानीको श्रोत जुटाउन लागिपरेको बताउनुभयो । परियोजना निर्माणको लागि मुख्य श्रोत जुटाएसँगै निर्माण प्रकृयाले तिब्रता पाउने मन्त्री बस्नेतले जानकारी दिनुभयो । स्थानीय र जिल्लावासीले लगानी गर्न नपाईएलाकी भनेर चिन्ता गर्न आवश्यक नपरेको समेत मन्त्री बस्नेतले जानकारी दिनुभयो । ‘यहाँका जनताले चाहे जत्ति र भने जत्ति शेयर लगानी गर्न पाउनुहुन्छ, ढुक्क भएर बस्नुहोस’, मन्त्री बस्नेतले भन्नुभयो ।

परियोजनाको निर्माण स्थल पुग्नुभएको अर्थमन्त्री डा. प्रकाश शरण महतले परियोजना निर्माणको लागि विश्व बैंकबाट आवश्यक ऋण लिईने बताउनुभयो । माथिल्लो अरुणबाट उत्पादित विद्युतको बजारिकरणमा समेत सहज हुने भएकोले विश्व बैंकबाट नै ऋण लिन खोजिएको उहाँले बताउनुभयो । यहाँबाट ऋण लिए उनीहरु आफै पनि बजारिकरणमा लाग्ने भएकोले आवश्यक रकम विश्व बैंकबाट नै लिन लागिएको उहाँको भनाई थियो ।

परियोजना निर्माण गर्न करिव एक अर्व ७५ करोड अमेरिकी डलर हुने अनुमान गरिएको छ । विश्व बैंकको नेतृत्वको अन्तराष्ट्रिय वित्तिय सँस्थाबाट ७५ करोड अमेरिकी डलर सौलियतपूर्ण ऋण जुटाईनेछ । ४० करोड डलर स्वादेशी तथा वित्तिय संस्थाबाट रकम जुटाईने छ ।

जम्मा ईक्वीटीको ५१ प्रतिशत रकम परियोजना प्रवर्धक अपर अरुण हाईड्रो ईलेक्ट्रिक कम्पनीले लगानी गर्नेछ भने ४९ प्रतिशत सर्वसाधारणबाट लगानी जुटाईनेछ । परियोजना सन २०२४ भित्रमा वित्तिय ब्यवस्थापन गरि २०२५ बाट सुरु गर्ने तयारी गरिएको परियोजनाले जनाएको छ ।

सम्बन्धित समाचार