समृध्दिका लागि सोचाइ नै परिवर्तन हुनुपर्छ: सहमहामन्त्री उपाध्याय



लिस्वन । नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्रीले महालक्ष्मी उपध्याय(डिना)ले श्रमलाई सम्मान गर्न नसक्दा देशमा बेरोजगारी बढेको बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति, पोर्चुगलले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा उहाँले सो कुरा बताउनु भएको हो ।

सहमहामन्त्री उपाध्यायले व्यवस्था परिवर्तन गरे पनि सोचाइ परिवर्तन नहुने हो भने समृध्दि सम्भव नभएको ओैल्याउनु भयो । विदेशमा जुनसुकै काम गर्न तयार हुने तर नेपालमा ठूलो र सानो काम भनेर भेदभाव गर्दा अपेक्षाकृतत विकास हुन नसकेको धारणा राख्नु भयो । उहाँले देश विकासका लागि स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुलाई एकजुट हुन समेत आव्हान गर्नुभयो ।

यसैगरी, कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका संसदीय दलका नेता समेत रहनु भएका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले पोर्चुगलमा रहेको नेपाली समूदायको समस्याहरुमा आफू जानकार रहेकाले आफ्नो पूर्ण सहयोग रहने प्रतिवध्दता व्यक्त गर्नुभयो । मन्त्री लामाले पोर्चुगलका लागि नेपाली राजदूतावास स्थापनाका गर्न सबै प्रकृया पूरा भएकोले यथाशीघ्र राजदूत आएर काम थाल्ने पनि बताउनु भयो ।

समितिका सभापति युवराज पन्थीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नानुमाया बास्तोला, बागमती प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री तिर्थ लामा, गैरआवासीय नेपाली संघ, पोर्चुगलका संस्थापक पूर्ण हमाल, संघको पूर्व सभापति लक्ष्मी सापकोटा, गैरआवासीय नेपाली संघ,पोर्चुगलका अध्यक्ष उमेश खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार