युरोपियन मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली राजदूतावास स्थापना हुने निश्चित भएको छ । लिस्वनस्थित राजदूतावासले आगामी फेब्रुअरी २१ देखि २६ तारिखसम्म पेरिसस्थित नेपाली राजदूतावाससँगको संयुक्त आयोजनामा राहदानी तथा कागजपत्र प्रमाणीकरण सेवा सञ्चालन गर्दै राजदूतावासले सेवा सुरुवात गर्न लागेको हो ।
राजदूतावासले फेब्रुअरी २१ देखि २५ सम्म कागजपत्र प्रमाणीकरण र २६ तारिखमा जारी भइसकेका नेपाली राहदानी वितरण एवं यसअघि जैविक तथ्याङ्क सङ्कलन गर्दा त्रुटी भएका आवेदकहरुको तथ्याङ्क पुनः संकलन गर्नेछ ।
स्रोतका अनुसार राजदूतावास सञ्चालनका लागि नेपालबाट कर्मचारीहरु सरुवा भई आईसकेको र कार्यालयको व्यवस्थापनमा जुटेको जनाइएको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणी पौडेल केही दिनभित्र नै कार्यस्थल आइपुग्ने पनि स्रोतले जानकारी दिएको छ । यसअघि पोर्चुगलका लागि नियुक्ति पाएर पनि सरकारले फिर्ता बोलाएका सनिल नेपालले भने पुन: राजदूत नियुक्त भएर स्पेनमा कार्य शुरु गरिसकेका छन् ।
कुनै निकायसँग आधिकारिक तथ्याङ्क नभए पनि युरोपमा बेलायतपछि पोर्चुगलमा धेरै नेपालीहरु बसोबास गर्दछन् । यहाँ नेपाली कुटनीतिक निकाय नहुँदा राहदानी, कागजपत्र प्रमाणीकरणलगायतको विषयमा निकै सास्ती खेप्नु परेको थियो । राजदूतावास स्थापना भएसँगै पोर्चुगलमा रहेका नेपाली समूदायमा खुसी छाएको छ ।
प्रतिक्रिया