संखुवासभा — संखुवासभाका जेनजी युवाहरूले आइतबार खाँदवारीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले जिल्लामा सुशासनको मागलाई तीव्र बनाएको छ। ‘हाम्रो भविष्य हामीले बनाउँछौं’ भन्ने सोचका साथ अघि बढेका युवाहरूले स्थानीय र जिल्ला स्तरका सरकारी निकायहरूमा व्याप्त अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिहरूको लापरबाहीको विषयमा खुलस्त रूपमा आवाज उठाएका छन् ।
कार्यक्रममा सहभागी युवाहरूले कालोबजारी, समान मूल्य प्रणालीको अभाव, स्थानीय तहमा देखिएको बेतिथि, शिक्षकको स्वतन्त्रता, मांसिमा खानेपानी योजनामा भएको अपचलन, अरुण तेस्रो जलविद्युत् आयोजनाको मुआब्जा विवाद लगायतका विभिन्न गुनासाहरू सार्वजनिक रूपमा राखेका थिए । साथै, अख्तियारबाट आएका पत्रहरू समेत सम्बन्धित निकायहरूले लुकाएको आरोप युवाहरूले लगाएका छन् ।
जेनजी युवा मेघराज तोलाङ्गीका अनुसार, कार्यक्रममा सहभागीले जिल्लाका प्राय: सबै सरकारी कार्यालयहरूको बेथितिबारे गुनासोको चाङ प्रस्तुत गरेका थिए। कार्यक्रममा जिल्लाका १० वटा स्थानीय तहका प्रमुखहरू आमन्त्रण गर्दा पनि उनीहरू उपस्थित नभएकोप्रति युवाहरूले आक्रोश व्यक्त गरेका थिए। प्रमुखहरूले कर्मचारी प्रतिनिधि पठाएपछि केही समय कार्यक्रममा होहल्ला मच्चिएको थियो। हामी जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद चाहन्थ्यौं, कर्मचारी पठाएर टार्न खोज्नु अपमानजस्तै हो, उनले भने ।
युवाहरूका तीव्र प्रश्न र गुनासोहरूलाई सम्बोधन गर्न जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेत लगायतले जवाफ दिएका थिए। प्रजिअ थपलियाले युवाहरूको सहभागितामूलक चिन्तनलाई सकारात्मक रूपमा लिँदै भनिन्, तपाईंहरूको आलोचना स्वागतयोग्य छ, हामी सुधार गर्न तयार छौं तर तपाईंहरू पनि निरन्तर सचेत रहनुहोस्।
जिल्ला प्रहरीका डिएसपी बस्नेतले जनताको गुनासो प्राथमिकतामा राखेर कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए। तपाईंहरूले उठाएका विषयमा प्रहरी प्रशासन गम्भीर छ उनले भने।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका युवाहरूले आफ्ना क्षेत्रगत समस्याहरू खुलेर प्रस्तुत गरेका थिए। युवाहरुले शिक्षकले राजनीति गर्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे। कार्यक्रमले सरकारी निकाय, जनप्रतिनिधि र युवाहरूबीचको संवादलाई बलियो बनाएको आयोजकले दावी गरेका छन् । अबको दिनमा पनि यस्ता अन्तरक्रिया निरन्तर गर्दै जाने जेनजी युवाले बताएका छन् ।
जेनजी युवाहरूको यस्तो सशक्त पहलले जिल्लामा सुशासन र जवाफदेहिताको मागलाई थप संस्थागत बनाएको महसुस गरिएको उनीहरुले दावी गरेका छन् । युवाहरूको सक्रियता र चासोले अब सरकारी निकायहरूले पनि आफ्ना कामप्रति गम्भीर बन्नुपर्ने समय आएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया