खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले नयाँ बर्षको अवसरमा खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले मंगलबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।
पालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका अन्तर्गगतको चिचिला गाउँ खेलकुद विकास समिति, वडा नम्बर ४ र स्थानीय क्लव स्वर्णीम मत्स्यपोखरी युवा क्लवको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको उहाँले बताउनुभयो ।
चिचिला गाउँपालिका जिल्ला सदरमुकाम नजिकै रहेकोले पनि पर्यटकहरु आउने सम्भावना भएकोले पर्यटन पुर्वाधार निर्माण तथा प्रचारमा पालिका लागिपरेको उहाँले बताउनुभयो । ‘हाम्रा पर्यटकीय क्षेत्रहरु थुप्रै छन्, त्यस मध्ये एक मत्स्यपोखरी हो, यसको प्रवर्धनको लागि कार्यक्रमको आयोजना गरेका हौँ’, अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँले पत्रकार सम्मेलनमा बोल्नुहुँदै आयोजना हुन लागेको कार्यक्रम तथा आफ्नो पर्यटकीय क्षेत्रहरुको प्रचारमा सहयोग गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो ।
भलिबल प्रतियोगिता चैत्र २६ गते विहिबार उद्घाटन हुनेछ भने बैशाख १ गते समापन हुनेछ । भलिबलको समापन लगत्तै साँस्कृतिक कार्यक्रम सुरु हुने चिचिला खेलकुद विकास समितिका अध्यक्ष आशिष गुरुङले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रम अन्तर्गत सामुहिक नृत्य प्रतियोगिता र चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहने छ । प्रतियोगितामा संखुवासभा र छिमेकी जिल्लाहरुबाट पनि सहभागि हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

पुरुष भलिबल तर्फको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई नगद २५,२५ हजार रुपैयाँ प्रदान गरिने शिक्षा शाखा प्रमुख महेन्द्र राईले जानकारी दिनुभयो । त्यस्तै महिला भलिबल तर्फ विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्रप्त गर्नेछन् । उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई १५,१५ हजार रुैयाँयाँ प्रदान गरिनेछ । साँस्कृतिक कार्यक्रम तर्फ सामुहिक नृत्य प्रतियोगिताको प्रथम, द्वतिीय र तृतीय टिमले क्रमश ३०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने राईले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्नुहँदै पत्रकार महासँघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका सम्पूर्ण पत्रकार टिमको साथ रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गलत प्रबृत्तिको विरोध र सकरात्मक कार्यहरुमा पत्रकारहरुको सँधै साथ रहने अध्यक्ष शाक्यले बताउनुभयो ।
खेलकुद विकास समिति अध्यक्ष आशिष गुरुङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत विकास विश्वकर्मा, वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ लगायतका जनप्रतिनिधहिरु, कर्मचारीहरु र पत्रकार महासंघ कोशी प्रदेश सदस्य ईन्द्र गिरी लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया