२३ जेठ, चितवन । चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी नगरपालिका बन्द गराएका छन् ।
माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिचाइँ पोखरीमा यही जेठ २० गते १० वर्षकी दिपिका सुनार र ११ वर्षकी दीपशीला परियार मृत फेला परेका थिए । शनिबार छुट्टिको दिन बिहान १० बजे पिकनिक खान भनी उनीहरू घरबाट हिँडेका थिए ।
शुरूमा पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भनिएको थियो । तर एक बालिकाको गुप्ताङ्गबाट रगत आएको, शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोट देखिएपछि बलात्कार पछि हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिएको छ । मृतक बालिकाहरुको भरतपुर अस्पतालमा पोष्टमार्टम गरिए पनि अझै रिपोर्ट आएको छैन ।
स्थानीयबासीले अनुसन्धानमा दबाव दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । बालिकाहरुको हत्या भएको दाबीसहित उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको माग गरेका छन् ।
घटनाका बारेमा थप बुझ्न भन्दै सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत अञ्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले कसैले कर्तव्य गरेर बालिकालाई पोखरीमा फालेको हुन सक्ने भन्दै घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताए ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाको अपराधिक गतिविधिबाट मृत्यु भएको हुन सक्ने आशंकामा ५ जना युवा र केही बालबालिकाहरुसँग पनि सोधपुछ गरिएको बताए ।
बन्दबाट जनजीवन प्रभावित
बन्दका कारण माडीबाट सदरमुकाम भरतपुर चल्ने र पर्साको ठोरी जाने सवारी साधनहरु रोकिएका छन् । माडी बजारसमेत बन्द छ । माडीबाट चल्ने लामा तथा छोटा दुरीका सबै सवारी साधन रोकिएका छन् । पसल, उद्योग धन्दा, शैक्षिक संस्थासमेत बन्द भएका छन् ।
बन्दका कारण स्नातक तेस्रो वर्षको परीक्षा दिन भरतपुर जाने विद्यार्थीहरु प्रभावित भएका छन् । त्यसैगरी बगईदेखि बाँदरमुढे घटनाको सम्झनामा गर्न लागिएको कार्यक्रममा जानेहरुलाई पनि समस्या परेको छ ।
रहस्यमय मृत्युका सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै सोमबार माडीका विधार्थीहरुले र्यालीसमेत निकालेका थिए ।
अनलाइन खबरबाट
प्रतिक्रिया