भ्यालेन्टाईनलाई सिर्फ एउटा यस्तो रित बुझेँ मैले,
सबैले गाएपछि गाउनैपर्ने बेमौसमी गीत बुझेँ मैले,
औपचारीकताकै लागि कलिलो गुलाफ निमोठ्ने हो,
फूल नओईलाउदै सम्बन्ध टुट्ने निश्चित बुझेँ मैले।
-भरत कुलुङ, सङ्खुवासभा
स्वर्गजस्तै सुख दिउँला झुप्रो भए नि
माया दिउँला साहुको ऋण थुप्रो भए नि
प्रणयको दिवसमा शुभकामना है,
मन बुढो छैन ढाड कुप्रो भए नि ।
000
न्यानो अँगालो ल खुट्टा दाउरी भए नि,
चुम्बन मिठो मुहारमा चाउरी भए नि
मक्मक् घुर्र गर्नु हजुर वरिपरि घुमी,
कपाल सेतो ज्यान पुरै झ्याउरी भए नि।
-ताराबहादुर बुढाथोकी (पाख्रीबासे कान्छो)
प्रतिक्रिया