विराटनगर । विराटनगरमा चार महिना अघि सम्पन्न भएको पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गरेको छ। विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १/१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो। सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन्। प्रदेश सरकारले राष्ट्रिय र अन्तरप्रदेश खेदकुद प्रतियोगिताहरूमा पदक जित्ने २३७ खेलाडीलाई पनि सोही अवसरमा सम्मान र पुरस्कृत गरेको थियो।
सम्मानित हुने खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मान गरे। सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथामिकता राखेर अगाडी बढेको बताए। अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट बिनायोजन गरेको जानकारी दिदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडि बढने बताए। ‘
प्रदेश सरकारले खेलकुद क्षेत्रलाई छायामा पर्न दिदैन’, मुख्यमन्त्री राईले भने, ‘खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार सँधैभरि लागि पर्नेछ।’ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। प्रदेश सरकारले साफ बिजेता भएको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो। तर, उपविजेता बनेपछि प्रदेश सरकारले १/१ लाख दिएको हो।
यस्तै सोमबार नेपाली टोलीलाई विराटनगर महानगरपालिकाले पनि जनही ५० हजार नगदले सम्मानित गरेको थियो। फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो। नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौंपल्ट च्याम्पियन भएको थियो।
प्रतिक्रिया