रुद्राक्ष जोगाउनै मुस्किल



सङ्खुवासभा । रुद्राक्षबाट सङ्खुवासभामा थुप्रै किसानहरुले हजारदेखि करोड रुपियाँसम्म आय आर्जन गर्दै आएका छन् । मुखदार र ठुलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकहरुले आफ्नो जीवनस्तर निक्कै माथी उकासेका छन् ।

तर पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषकहरु चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पुराउने घटना बढेपछि कृषकहरुलाई बोट जोगाउनै मुस्किल परेको छ । बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्ने जस्ता घटना बढिरहेकोले कृषकहरु त्रसित बनाएको छ । राम्रो गुणस्तरको फल दिने बोटमा क्षति पुराईदिने होकी भन्ने चिन्ताले कतिपय किसानहरु जागराम समेत बस्दै आएका छन् ।

जिल्लाको पाँचखपन नगरपालिकामा रुद्राक्षको बोट ताछिएको घटनापछि सिलिचोङ गाउँपालिकाको याफुमा बोट काटिएको घटनाले कृषकहरुमा त्रास फैलिएको छ । यो सँगै सङ्खुवासभासँग सिमाना जोडिएको साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा रुद्राक्षको बोटमा बेनीले खोपेर विषादी हालिएको घटनाले झन डर फैलाएको छ । अघिल्लो बर्ष जिल्लासँग समिाना जोडिएको भोजपुरको दिंलामा रुद्राक्ष कुरुवालाई आक्रमण गरि रुद्राक्ष लुटेर लगेको घटना किसानहरुले विर्सने कुरै भएन । यसरी बर्षेनी भईरहने रुद्राक्षको क्षतिले किसानहरुले चिन्तित बनाएको छ ।

गुणस्तरिय उत्पादन दिने बगानमा कतिपयले सिसि क्यामरा जडान गरेका छन् भने कतिले स्थानीय युवाहरुलाई कुरुवाको रुपमा राखेका छन् । केही कृषकहरुले भने थप सुरक्षाको लागि सिसि क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् । जिल्लाका केही किसानहरुले सुरक्षाको चुनौतिको कारण फुल समेत नफुली नै ब्यापारीहरुलाई ठेक्का दिईसकेका हुन्छन् । ठेक्का दिईसकेपछि कुनै चुनौति विना रकम पाईहाल्ने भएकोले ठेक्का दिने गरेको कृषकहरुको भनाई छ । ठेक्कामा दिदा आफुहरुले बस्तु अनुसारको मुल्य नपाउने भएपनि नपाईएलाकी भन्ने डर भने नरहेको सिलिचोङ ५ याफुका विजय मेवाहाङले बताउनुभयो ।

रुद्राक्ष ब्यावसायीहरुले पनि निस्चित समयको लागि ठेक्का लिईसकेपछि ठुलो रकम खर्चेर कुरुवा राख्ने गरेका छन् । उनीहरुले बलिया र खाईलाग्दो युवाहरुलाई राम्रो पारिश्रमिक दिएर रुद्राक्षको कुरुवा राख्ने गरेका छन् । कोही गलत नियतले बगान वरिपरि प्रवेश गरे भौतिक कारबाहि गर्न समेत सक्षम युवाहरुलाई ब्यावसायीहरुले कुरुवा राख्दै आएका छन् । रुद्राक्षलाई लक्षित गरेर कसैले आक्रमण गर्न सक्ने भएकोले पनि बलिया युवाहरु ब्यावसायीहरुको रोजाईमा पर्दै आएका छन् । राम्रो रुद्राक्ष भएपनि कुरुवा नराख्नाले लाखौको क्षति ब्यहोर्नु परेको रुद्राक्ष ब्यवसायी अर्जुन न्यौपानेको अनुभव छ । यहि बर्ष ६२ लाख रुपियाँ खर्च गरेर लिएको ठेक्कामा कसैले विषादी हालिदिएपछि समस्यामा परेको न्यौपानेको भनाई छ ।

मानिसहरुमा उत्पन्न हुने ईश्र्याको कारण राम्रो रुद्राक्षमा क्षति पुराउने गरिएको जानकारहरु बताउछन् । आफ्नो बगानमा राम्रो नफल्ने तर छिमेकिकोमा राम्रो फले ईश्र्याले क्षति पुराउने गरेको आसंका गर्ने गरिएको कृषकहरु बताउछन् । राम्रो फल्ने रुद्राक्षको बिरुवा नबाँडिने भएकोले पनि नोक्सान पुराउने गरिएको हुनसक्ने पनि रुद्राक्ष ब्यवसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्केको भनाई छ । उन्नत जातको बोटबाट कलमी बिरुवा वा बिज बिरुवा धेरैले मागेपनि कसैले दिदैनन्, यस्तो बिरुवा नपाउनेहरुले पनि क्षति पुराएको हुनसक्छ , विसुङ्केले भन्नुभयो । योसँगै ब्यापारि ब्यापारी विचको प्रतिष्पर्धाले पनि बोटमा क्षति पुराउने गरिएको हुनसक्ने उहाँको भनाई छ ।

सम्बन्धित समाचार