एटके एक्सपेडिसनको सहयोगमा मकालुको लागि एम्बुलेन्स खरिद गरिदै



खाँदबारी । मकालु युवा समाजको अनुरोधमा पर्यटन ब्यावसाय कम्पनी एटके एक्सपेडिसनले मकालु गाउँपालिकामा एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । कम्पनीले एम्बुलेन्स खरिद गर्न आवश्यक पर्ने २० लाख ८ हजार रुपैयाँ रकम सहयोग गरेको हो ।

कम्पनीका सञ्चालकहरुले आईतबार मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त चेक एक्सपेडिसन कम्पनीका सञ्चालकहरु तेम्बा शेर्पा, लाक्पा टि शेर्पा र लाक्पा एन् शेर्पाले हस्तान्तरण गरेका हुन् ।

यस अघि एम्बुलेन्स खरिदका लागि मकालु युवा समाजले सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी गरेको थियो । तर एम्बुलेन्स खरिद गर्ने रकम ठुलो भएको र सहयोगी दाताहरुबाट उक्त रकम संकलन गर्न सहज नभएकोले एटके एक्सपेडिसनलाई अनुरोध गरिएको मकालु युवा समाजका अध्यक्ष नुर्वू शेर्पाले जानकारी दिनुभयो । एम्बुलेन्स खरिदको लागि सम्पूर्ण प्रकृया पुरा भईसकेको र अब एम्बुलेन्स विक्रेतासँग सम्झौता गरिने शेर्पाले जानकारी दिनुभयो । खरिद सम्झौता गरिएको बढिमा ३ महिना भित्र पालिकामा एम्बुलेन्स आईपुग्ने उहाँले जानकारी दिनुभयो ।

मकालु गाउँपालिकामा यस अघि पनि भारतीय राजदुतावासले एक वटा एम्बुलेन्स उपलब्ध गराएपनि भुगोल र सडक अनुसारको नभएकेले लाभ लिन नसकिएको मकालु युवा समाजका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । यस अघि टु विलर मात्र रहेको र अब आउन लागेको एम्बुलेन्स फोर विलर रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार