छोरीको सुत्केरी खर्च ज्वाइँले तिर्न नसक्दा नाती बन्दक



छोरीको सुत्केरी खर्च ज्वाइँले तिर्न सकेन भनेर नातिलाई बन्धक बनाइएको घटना सुन्दैमा पत्यार नलाग्न सक्दछ । तर भारतको हरियाणामा यस्तो घटना भएको छ ।

हरियाणाको फतेहावादमा बस्ने एकजना युवकले आफ्नो छोरालाई ससुरालीले बन्धक राखेको भन्दै प्रशासनमा धर्ना दिएका छन् । पत्नी सुत्केरी हुँदा ससुरालीले डेढ लाख भारु खर्च गरेको र सोही रकम चुक्ता गर्न नसक्दा आफ्नो छोरालाई ससुरालीले बन्धक बनाएको उनको दाबी छ ।

प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका सुरज नामका ती युवकका अनुसार उनकी पत्नीले राजस्थानको गंगानगरस्थित माइत गएको बेला बच्चा जन्माएकी थिइन् ।

त्यसबेला ससुरालीको डेढ लाख भारु खर्च भएछ । सो रकम नतिरेसम्म बच्चा नदिने भन्दै ससुरालीले आफ्नो छोरालाई नियन्त्रणमा लिएको र आफू र आफ्नी पत्नीमाथि कुटपिट गरेको जिकिर गरेका छन् ।

सुरुमा पुलिसमा उजुरी दर्ता गरेपनि पुलिसले १० हजार भारु चाहिने भन्दै कारवाही अघि नबढाएको उनले बताएका छन् ।

जिल्ला प्रशासनका प्रमुख अर्थात् एसडिएमका अनुसार यसअघि पनि सुरज र उनकी पत्नीलाई ससुराली गएर आफ्नो बच्चा ल्याउनका लागि अनुमति दिइएको थियो । तर ससुरालीले उनलाई छोरा दिनुको साटो उल्टै कुटपिट गरे ।

बिहेको बेला सुरज र उनकी पत्नी नाबालिक नै रहेको कारण पनि बच्चा दिलाउन कानूनी समस्या भएको र अब प्रक्रिया पुर्‍याएर माइती/ससुरालीको नियन्त्रणमा रहेको बच्चा बाबुआमालाई जिम्मा लगाउने प्रयास गरिने प्रशासनको भनाइ छ ।

सम्बन्धित समाचार