स्वर्गिय खेलाडीको समृतीमा खेलकुद




बाला । सिलिचोङ गाउँपालिका २ का स्वर्गिय भलिबल खेलाडी अनिल अधिकारीको समृतीमा खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका उत्कृष्ठ युवा खेलाडीको मृत्यु पश्चात पहिलो पटक बाला स्थीत याम्दाङ समाज विकास समितिले अधिकारीको सम्मानमा प्रतियोगिता आयोजना गरेको हो ।

अधिकारीको समृतीमा १५ किलोमिटर मिनि म्याराथुन र साविक वडा स्तरिय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । म्याराथुन बुधबार सम्पन्न भएको छ भने भलिबल प्रतियोगिता विहिबारबाट सुरु हुँदैछ । म्याराथुन प्रतियोगितामा ३८ जनाको सहभागिता रहेको थियो । जसमध्ये सभापोखरीका नविन गुरुङले एक घण्टा ११ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हात परेको छ । त्यस्तै, सिलिचोङ गाउँपालिका ४ का मनराज राईले एक घण्टा १४ मिनेटमा दुरी पार गरेर दोश्रो स्थान तथा सिलिचोङ २ का उत्तर कुमार कुलुङले एक घण्टा १५ मिनेटमा निर्धारित दुरी पार गर्दै तेश्रो स्थान प्राप्त गरेका छन् ।

म्याराथुन तर्फका विजेताहरु क्रमस प्रमाण पत्र सहित नगद १० हजार पाँच, ७ हजार पाँच र ४ हजार पाँच रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै भलिवल तर्फ पहिलो हुने टिमले मेडल र प्रमाण पत्र सहित नगद २० हजार पाँच रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, दोश्रो हुने टिमले १५ हजार पाँच रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्नेले मेडल र प्रमाण पत्र सहित नगद ९ हजार पाँच रुपैयाँ र सान्त्वना हुने टिमले मेडल र प्रमाणपत्र सहित नगद ६ हजार पाँच रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ठ र नव प्रतिभा खेलाडीले मेडल र प्रमाण पत्र सहित जनही एक हजार पाँच रुपैयाँ प्राप्त गर्नेछन् ।

सिलिचोङ गाउँपालिका २ बालामा जन्मिएका स्वर्गिय अधिकारीको अघिल्लो बर्ष माघ २० गते दुर्घटनामा परि मृत्यू भएको थियो । उनी स्थानीय, जिल्ला हुँदै प्रदेश स्तरिय खेलहरु कुसलता पुर्वक खेल्दै आएका थिए । यस बर्षको सोहि दिन दिउसो २ बजेबाट अनिल अधिकारीको समवेदना सभा सहित साँगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार