शेयर बजारमा कस्ले लगानी गर्ने ? यी हुन् शेयर बजारका ५ मुख्य भ्रमहरु



मुख्य भ्रमहरु :

१.पैसा धेरै हुनेले मात्र लगानी गर्ने क्षेत्र :

हाम्रो सामुदायमा मात्र नभएर धेरैलाई पर्ने पहिलो भ्रम भनेको शेयर बजार ठुला करोडपतिहरुले मात्र लगानी गर्ने क्षेत्र भन्ने हो । तर यो ठिक उल्टो हो । कसैले नाँङलो पसल थाप्छ भने उसलाई कम्तीमा पनि पाँच हजार रुपैया चाहिन्छ तर शेयर बजारमा तपाईले १ हजार रुपैयाबाट आईपिओ भरेर लगानी गर्न सक्नुहुन्छ । त्यसैले यो सबैभन्दा पैसा नहुनेहरुले पनि लगानी गर्न मिल्ने क्षेत्र हो । पैसा हुनेहरुलाई त छदैछ ।

२.शेयर बजारमा आजको भोली नै कमाईन्छ :

यो पनि ठुलै भ्रम हो । जसरी अरु सेक्टरमा पैसा कमाउन सजिलो छैन, त्यसरी नै शेयर बजारमा पनि पैसा कमाउन धैर्यताको आवश्यकता हुन्छ । कहिलेकाही भाग्यले आजको भोली नै कसैले कमाउन सक्छ तर सधै त्यस्तो हुदैन । राम्रो कम्पनी छानेर पर्खन सक्नेहरुले मात्र शेयरबजारमा पैसा कमाउछन् । नत्र मुल्य घटेको बेला बीचमा आत्तिएर बेच्नेहरुले ठुलो नोक्सानी ब्याहोर्नुपर्दछ । आज कसैले करोडौंको शेयर किनेकोसंग भन्दा उसले दिएको निरन्तरतासंग शेयरबजारमा सफलता सम्बन्धित हुन्छ ।

३.पैसा भए लगानीकर्ता भइन्छ :

पैसाको बिटा हुनेहरुलाई लाग्ने यो अर्को खतरनाक भ्रम हो । पैसा टन्नै छ आज कसैलाई सोधेर जसोतसो शेयर किन्यौ । उसले आफुले किनेको कम्पनीको साधारणसभा कहिले हुदैछ , बोनस कति दिदैछ ? राईट शेयर कति दिदैछ ? नाँफा बढाईरहेको छ कि घटाईरहेको छ ? केही पनि थाँहा छैन । दिनमा एकपल्ट आर्थिक न्युजहरु हेर्दैन वा चाँसो राख्दैन । तर ऊ आफुलाई लाग्छ कि ऊ पनि शेयर बजारको ठुलै लगानीकर्ता हुन किनकी उसले करोडौं रुपैयाका शेयर किनेको छ । तर वास्तविकता त्यो होइन लगानीभन्दा पहिला अध्ययन चाहिन्छ । अध्ययनभन्दा पहिले पेसन चाहिन्छ कि तपाईको भित्री मनदेखि नै शेयरबजार प्रति चाँसो हुन जरुरी छ । यसबारे वारेन बफेटले २ वटा कुरा भनेको छ : १.शेयर बजारमा लगानी गर्नुभन्दा पहिले तिमी आफैमा लगानी गर, २. नबुझेको चिजमा कहिल्यै लगानी नगर ।

४.भाग्यले शेयर बजारमा कमाईन्छ :

यो शेयरबजारबारेको अर्को भ्रम हो । शेयर बजार चिठ्ठा वा जुवा होइन । जसले बढी सुचना खोजेर पढछ वा त्यसको सही विश्लेषण गर्छ उसले कुनै पनि कम्पनीको भविष्य ठिक ढंगले अनुमान गर्न सक्छ । जसले पढदैन वा सुचनाको विश्लेषण गर्दैन त्यसले अरुको लहै लहैमा लगानी गर्ने हो । त्यस्ता मान्छेहरु डुब्छ । त्यसैले शेयर बजार मेहनत गरेर कमाउने ठाँउ हो भाग्यले कमाउने ठाँउ होइन ।

५.शेयरमा घाँटा हुदैन :

यो अर्को भ्रम हो । शेयरमा लगानी पनि अरु ब्यापारमा गरेको लगानी जस्तै हो । जसरी अरु ब्यापार घाँटामा जान्छ त्यसरी नै तपाईले लगानी गरेको कम्पनी पनि घाँटामा जान सक्छ । यस्तो बेला नाँफा कमाउने सोँचले लगानी गरिए पनि घाँटा हुन्छ । तपाईको शेयरको मुल्य घटछ । तपाई त्यो घाँटा ब्यहोर्न पनि तयार हुनुपर्छ ।

शेयर बजारमा लगानी गर्न आवश्यक ४ योग्यताहरु

१. तपाईलाई शेयर बजारबाट पैसा कमाईन्छ भन्ने कुराको विश्वास छैन भने लगानी नगर्नुहोस । विश्वास नभएपछि बजार घटेको बेला आफु सिद्विएको अनुभव हुन्छ । त्यसले धर्यतामा कमी ल्याउछ र तपाईले घाँटामा शेयर बेच्नुहुन्छ ।

२.तपाईलाई शेयर बजारबारेको दैनिक आर्थिक न्युजहरु पढ्न, सुन्न र खोज्न मन लाग्दैन भने वा लागेर पनि साथमा इन्टरनेट छैन भने पनि लगानी नगर्नुहोस् वा कमसेकम त्यस्ता समाचार पढने, सुन्ने र बुझने तपाईको विश्वासिलो मान्छेको साथ सहयोग लिएर मात्र लगानी गर्नुहोस ।

३.कसैलाई शेयर बजारबारे थाँहा छैन भने सिक्ने चाहना अनिवार्य आवश्यकता हो । ज्ञान पनि छैन सिक्ने चाहना पनि छैन भने पैसा भएर मात्र लगानी नगर्नुहोस बरु तपाईलाई जे कुराको चासो छ त्यही विषयमा लगानी गर्नुहोस् ।

४.शेयर बजार कहिले घटछ कहिले बढछ तर याद राख्नुहोस यो जहिले पनि आफुलाई लागेको बेला बढने हो वा आफुलाई लागेको बेला घटने हो । तपाईले भनेको वा सोचेको बेला होइन । त्यसैले यतीबेलासम्ममा शेयरको मुल्य बढछ र बेचौला अनि त्यसमा खर्च गरौंला भनेर नसोच्नुहोस । अवथा शेयरमा लगानी गर्ने मान्छेको जसरी योग्यता हुन्छ शेयरमा लगानी गरिने पैसाको पनि योग्यता अनिवार्य चाहिन्छ । त्यो के हो भने घरायसी प्रयोजनको गरिएको बचत शेयरमा लगानी नगर्नुहोस । त्यसले तपाईलाई चाहिएको बेला जसरी पनि बेच्नै पर्ने बाध्यता बनाउछ र तपाईले घटीरहेको बेला पनि बेच्नुपर्ने हुन्छ । ऋण गरेर लगानी गर्दा पनि त्यही हो ।

यत्रो कठिनाईका बीच पनि शेयरबजारमा किन लगानी गर्ने ?

संसारको जुनसुकै कुनामा बसेर मजदुरी वा जागिर गर्दै ब्यापार गर्न मिल्ने एक मात्र सेक्टर शेयर बजार हो । एउटा ब्यापार ब्यवसाय गरिरहेको अध्ययनशिल मान्छेले थोरै समय छ भने उक्त ब्यापारको साथमा अर्को ब्यापार गर्न मिल्ने क्षेत्र पनि शेयर बजार मात्र हो । किनभने शेयर बजारमा तपाई आफुले प्रत्यक्ष आफ्नो ब्यापार कन्ट्रोल गर्ने होइन । तपाई हरेक दिन तपाईको ब्यापार गर्ने क्षेत्रमा गएर कर्मचारीहरुलाई हेर्न पर्दैन । केबल तीन तीन महिनामा आउने कम्पनीहरुको वित्तिय विवरण र दैनिक जसो आउने सरकारी नीति नियम र त्यसले प्रभाव पार्ने क्षेत्र विश्लेषण गरी आफ्नो लगानी बढाउने वा घटाउने काम गर्ने हो । त्यसको लागी तपाईले बिहान बेलुका सुचना संकलन गरेर पढने मात्र हो ।

अनलाईन ट्रेडिङको सुविधासंगै तपाईले आफ्नो शेयर संसारको जुनसुकै कुनाबाट बेच्न र किन्न सक्नुहुनेछ । कर्मचारीहरुमा दैनिक पढने बानी बसिरहन्छ । सामाजिक संजालमा खर्च हुने समय आम्दानी आउने क्षेत्रमा लगानी गर्न सकिन्छ । पढने बानी बस्छ ।

 

सम्बन्धित समाचार