अरुण तेश्रोलाई लक्षित गरेर आलु उत्पादन गर्दै चिचिलाका किसान



खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर ३ मा नौ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण हुँदैछ । त्यहाँ काम गर्ने हजारांै कामदारहरुलाई लक्षित गरेर चिचिला गाउँपालिकाले वडा नम्बर २ मा ठूलो परिमाणमा आलु उत्पादन गर्ने भएकोे छ ।

निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजना आलु सहितका तरकारी जन्य बस्तुको ठूलो बजार भएको निष्कर्ष निकाल्दै वडा नम्बर २ लाई गाउँपालिकाले आलु पकेट क्षेत्र घोषणा गरेको हो । ठूलो परिमाणमा आलु उत्पादन गरे कृषकहरूको आमदामी बढ्ने र गाउँपालिका नै आलुमा आत्मनिर्भर हुने गाउँपालिकाले लक्ष्य लिएको छ ।
मकालु गाउँपालिकाको फ्याक्सिन्दामा बन्दै गरेको ड्याम निर्माण क्षेत्रमा समेत चिचिला गाउँपालिकाको केन्द्र हुँदै जाने र लाखौं रुपैयाँको खाद्यबस्तुहरु बाहिरबाट आयात भईरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको भनाइ छ । बाहिरबाट आउने सामग्री स्थानीय स्तरमा नै उत्पादन भए उपभोक्ता र उत्पादक दुवैलाई राम्रो हुने अध्यक्ष शेर्पाको दावी छ ।

गाउँपालिकाको वडा नम्बर २ मा दुई वटा कृषक समूह मार्फत आलु उत्पादनको काम सुरु भएको हो । वडा नम्बर २ को हावापानी र भुगोलको बनोट अनुसार कार्डिनल जातको बीउ सिफारिस गरेर बाग्लुङ जिल्लाबाट बीउ ल्याईएको कृषि शाखा प्रमुख तथा प्राविधिक सजन विश्वकर्माले जानकारी दिनुभयो । सगरमाथा बहुद्देशिय कृषि समूह र याफुडाँडा कृषि समूहका ३० किसानहरुले पहिलो चरणमा आलु रोपेको विश्वकर्माले जानकारी दिनुभयो । बिकका अनुसार यसपटक पहिलो चरणमा ५ हेक्टर क्षेत्रफलमा आलुको बीउ लगाईएको छ । प्रतिहेक्टर २५ टन उत्पादकत्व रहेको यस क्षेत्रमा प्रति रोपनी करिब सय किलोग्राम बीउ लागेको कृषि शाखा प्रमुख विकले जानकारी दिनुभयो ।

कृषकहरुलाई कुनै पनि प्राविधिक समस्या नहुन एक जना कृषी प्राविधिक नियुक्ति गरेर किसानसँगै राखिएको गाउँपालिकाले जनाएको छ । हाल धमाधम आलु रोपिरहेका किसानहरुले तीन महिनापछि उत्पादन लिने फिल्डमा खटिनुभएका कृषी प्राविधिक लाक्पाछेकी शेर्पाले बताउनुभयो । गाउँपालिकाबाट अनुदान पाएका कृषकहरु उत्साहका साथ आलु रोपिरहेका प्रविधिक शेर्पाले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण शिर्षकमा गाउँपालिकालाई प्राप्त भएको २४ लाख रुपियाँ बजेट मध्ये १२ लाख रुपियाँले आलु पकेट क्षेत्र विस्तार गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । बाँकी १२ लाख रुपैयाँले पानी मकैको खेती विस्तारको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । आलु पकेट क्षेत्रका कृषक र गाउँपालिकाको ५० प्रतिशत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको हो । यस बर्षबाट चिचिला गाउँपालिका आलु तरकारीमा मात्र नभएर बीउमा समेत आत्मनिर्भर हुने अध्यक्ष शेर्पाको दावी छ ।

गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको ।

सम्बन्धित समाचार