काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको हो।
२०७५ असोज १२ गते राति महराले बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीलाई बताएपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो। बलात्कार प्रयास आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। सोही आरोपका कारण महराको सभामुख पद खोसिएको थियो।
तर, पछि पीडित महिलाले जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतले महरालाई सफाइ दिएको थियो ।
२०७५ पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।
संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
प्रतिक्रिया