मिथिलामा मधुमासको रमणीय महिना सुरु भएसँगै नवविवाहित जोडीहरूको मनमोहकपर्व मधुश्रावणी पनि मनाइँदै छ। श्रावण कृष्ण पञ्चमीको दिनदेखि सुरु भई श्रावण शुक्ल तृतीयासम्म मनाइने यो १३ दिवसीय पर्वको रौनक अहिले मिथिलाञ्चलका गाउँ, सहर सबैतिर हेर्न सकिन्छ।
नवविवाहित महिलाहरूले बेहुलीझैं श्रृंगार गरेर प्रत्येक साँझ झुण्ड बनाइ टोल, मन्दिर र बगैंचाहरूमा फूललोढी फूल टिप्ने गर्दै, गीत गाउँदै हिँड्ने दृश्यले मिथिलाको संस्कृतिलाई उजागर गर्छ नै। पर्वको महत्वलाई पनि वर्णन गर्छ।
फूललोढीका बेला गाइने गीतहरूमा नवदम्पतीको प्रेम, विश्वास र सामिप्यताको सन्देशहरू हुन्छ। नवजोडीका लागि यो उत्सवसरह नै हो। आमोद–प्रमोद, हास–परिहास र उन्मादले भरिएको यो पर्व नवविवाहित जोडीका लागि गृहस्थ जीवनमा प्रवेश गर्ने सुन्दर अवसरका रूपमा रहेको छ।
प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रूपमा रहेको यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ र सोनार जातिले मनाउने चलन छ। सामाजिक, सांस्कृतिक परम्परामा आधारित यस पर्वमा मैथिल नववधुले श्रीमान्को घरबाट पठाएको फरिया, घोघट लगाएरै १३ दिनसम्म पूजापाठ गर्ने गर्छिन्। पूजाको सुरुआतमा माटो र गाईको गोबरबाट कलात्मक नाग, नागिनको मूर्ति बनाई पर्वको शुभारम्भ गरिन्छ। सांस्कृतिक अनुष्ठानको रूपमा रहेको यस पर्वको प्रारम्भमा पहिलो दिन व्रत लिनेले पवित्र स्नान गरी चोखोनितो बनेपछि व्रत संकल्प गर्छन्। व्रतअवधिभर मन चोखो राखी पवित्र सात्विक भोजन गर्नुपर्ने विधान छ।
व्रतमा प्रत्येक दिन सूर्यास्तपूर्व नववधु पूर्णश्रृंगार गरी सखीहरूसँगै फूललोढी गर्ने र साँझ टिपेर ल्याएको फूल भोलिपल्ट बिहान शिव, पार्वती र विषहरालाई अर्पण गर्ने परम्परा छ। ससुरालीबाट पठाइएको अन्न र चोखो परिकार मात्रै खाने र प्रत्येक दिन गौरी तथा नागनागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा नववरवधुलाई सुनाउने गरिन्छ। माता गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजाआराधना गर्ने गरिएको संस्कृतिविद् डा। राजेन्द्र विमल बताउँछन्।
मधुश्रावणी व्रतको सुरुआत
माता गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनकामना पूर्ण गर्ने देवीको रूपमा मानिएकी हुन्। वाल्मीकि रामायणका अनुसार मिथिलाकी राजकुमारी सीताले गौरी पूजन निरन्तर गरेकै कारण भगवान् रामजस्ता पति पाएको उल्लेख छ।
यो पर्व कहिलेदेखि सुरु भएको भन्न सकिने तथ्य नरहे पनि शिवमहापुराणमा उल्लेख भएअनुसार मधुश्रावणी नाम गरेकी नवविवाहिताले पतिलाई कुष्ठरोग भएको व्यथा शिवलाई सुनाएकी थिइन्। शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए। सोही व्रत गरेपछि उनका पति निको भई स्वस्थ्य जीवन बिताउन थाले। सोही कारण पनि मधुश्रावणी मनाउँदै आएको पाइन्छ।
यस पर्वमा प्रत्येक दिन नववधुलाई भिन्न कथाहरू सुनाउने गरिन्छ। जसमा मैनामञ्चमी, विषहरी, बिहुला, मनसा, मंगलागौरी, पृथ्वीजन्म, समुद्र मन्थन, सतीका कथाहरू छन्। मधुश्रावणी पर्वको एक कथाअनुसार एकपटक भगवान् शिव, माता पार्वतीसँग जलक्रिडा गरिरहेका थिए। सोही समयमा भगवान् शिवको वीर्य स्खलन भयो। शिवले सो वीर्य रूखको पातमा राखे। सोही वीर्यबाट पाँचकन्याको जन्म भयो। ती पाँच कन्याको नाम जया, विषहर, शामिलबारी, देव र दोतली राखियो।
ती कन्याहरूको जन्म भएपछि भगवान् शिव त्यहाँबाट कैलाश फर्किए। तर, उनी बेला–बेलामा छोरीहरूलाई भेट्न आउँथे। सो क्रम धेरै दिनसम्म चलिरह्यो। माता पार्वतीलाई भगवान् शिवमाथि शंका लाग्यो। उनी एक दिन शिवको पछि लागिन्। भगवान् शिव तलाउमा आफ्ना सर्परूपी छोरीहरूसँग खेलिरहेको देख्दा पार्वती क्रोधित भइन्।
उनले ती सर्पकन्याहरूलाई मार्ने प्रयास गरिन्। तर, भगवान् शिवले पार्वतीलाई रोक्दै ती सर्पकन्याहरूको उत्पत्तिको वास्तविकता सुनाए। पार्वतीले श्रीमान्को कुरा सुनेपछि ती कन्याहरूलाई मारिनन्। त्यसपछि महादेवले भने, ‘साउन महिनामा जो कोही सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन।’ यसै कारण पनि मधुश्रावणीमा विषहरा र सर्पको पूजा गर्ने परम्परा छ।
प्रतिक्रिया