विराटनगर । सुनसरीको दुहवी नगरपालिका–३ की ६५ वर्षीया वृद्धालाई साउन १४ गते कोरोना संक्रमण पुष्टि भयो । अवस्था सामान्य रहेकाले उपचारका लागि अस्पताल जान मन नगरेपछि परिवारका सदस्यले होम आइसोलेसनमै राखे । घरमै रहँदा स्वास्थ्यमा एक्कासी समस्या आएपछि साउन १८ गते मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइयो । कोभिड अस्पतालको आईसीयूमा भर्ना गरे पनि स्वास्थ्य झन् बिग्रदै गएपछि भेन्टिलेटरमा राखियो । साउन २१ गते वृद्धाको मृत्यु भयो ।
कोरोना रिपोर्ट पोजिटिभ आएपछि सुनसरीकै इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीयलाई घरमै राखियो । तीन दिनपछि अचानक अवस्था गम्भीर भयो । विराटकै कोभिड अस्पतालमा साउन ६ गते भर्ना गरिएका उनको २१ गते उपचारकै क्रममा मृत्यु भयो । ‘अस्पताल आइपुग्दा अवस्था चिन्ताजनक थियो,’ विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले भने, ‘तत्काल उपचार थालेर धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।’
मोरङको केराबारी गाउँपालिका–३ का ५६ वर्षीयको रिपोर्ट साउन १९ गते पोजिटिभ आयो । स्वास्थ्यमा कुनै समस्या नभएकाले घरमै बसेका उनलाई अक्सिजनको मात्रा घटेर अवस्था गम्भीर बनेपछि आइतबार राति विराटमै भर्ना गरियो । देवका अनुसार संक्रमित पुरुषको गम्भीर अवस्थामा आइसीयूमै उपचार भइरहेको छ ।
खोकी लाग्ने र ज्वरो आउने समस्या रहेकी मोरङको लेटाङ नगरपालिका–४ की ४७ वर्षीया महिलालाई ११ दिनअघि संक्रमण यकिन भयो । तर अस्पताल नलगिकन धामीझाँक्री बोलाएर झारफुक गर्न लगाएको पाइएको देवले बताए । निक्कै चिन्ताजनक अवस्थामा अघिल्लो आइतबार अस्पताल भर्ना गरिएकी उनको आइसीयूमै उपचार भइरहेको छ ।
माथि उल्लेख गरिएका विवरण कोरोना संक्रमण भएपछि बेलैमा उपचारमा ध्यान नदिँदा उत्पन्न जटिल परिस्थितिसँग जोडिएका उदाहरण हुन् । संक्रमण पुष्टि भएकालाई पर्याप्त चिकित्सकीय परामर्श एवं सहयोग बिनै होम आइसोलेसनमा राख्ने र अवस्था गम्भीर बनेपछि अस्पताल ल्याउने गरिएको देवले बताए ।
‘संक्रमण यकिन भइसक्दा पनि वास्ता नगरिकन मान्छेले कोरोनालाई सामान्य ठान्न थाले,’ उनी भन्छन्, ‘अवस्था अन्तिम बनिसकेपछि धेरै ढिलो गरेर अस्पताल ल्याउँदा बिरामीलाई बचाउनै मुस्किल परिरहेको छ ।’ अस्पतालको २५ बेडको आइसीयू संक्रमितले भरिभराउ छ । नयाँ बिरामीका लागि यसअघि आइसीयू र भेन्टिलेटरमा भर्ना भएकाको डिस्चार्ज वा मृत्यु पर्खिएर बस्नुपर्ने बाध्यता आइसकेको देवले बताए ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका प्रमुख वैजनाथ साहले साउनको दोस्रो सातायता आइसीयू आवश्यक पर्ने गम्भीर एवं जटिल अवस्थाका संक्रमित धेरै आउन थालेको बताए । ‘सुरुमा कुनै वास्ता नगरिकन घरमै राख्ने र अवस्था गम्भीर बनेर आइसीयू नै आवश्यक पर्ने भएपछि अस्पताल ल्याइन्छ,’ उनले भने, ‘दिनमा १० जनाभन्दा बढी त्यस्ता बिरामी आउन थाले पनि भर्ना गर्न नसकेर फर्काउनु परिरहेको छ ।’
२१ बेडको आइसीयू खाली छैन । उनका अनुसार बिरामीको चाप अत्याधिक बढेको छ । ‘अस्पतालमा यसअघि नै भर्ना भएर अक्सिजनको सहारा लिँदै आईसीयूको पर्खाइमा बसेका धेरै बिरामी छन् । खाली हुनसाथ उनीहरुलाई सार्नुपर्ने हुन्छ,’ साहले भने, ‘उपचारमा समय लाग्ने भएकाले डिस्चार्ज तत्काल हुँदैन । नयाँ आउने बिरामीले त आइसीयू र भेन्टिलेटर नै पाउन छाडे ।’
संक्रमितको उपचारमा खटिरहेका कोसी अस्पतालका वरिष्ठ फिजिसियन डा। रोशन खड्काले पछिल्लो समय कोरोना पुष्टि भइसक्दा पनि हेलचेक्राइँ बढ्न थालेको बताए । ‘संक्रमणको पहिलो लहरमा सतर्कता धेरै अपनाइन्थ्यो । झन् खतरनाक रूपमा नयाँरनयाँ भेरियन्ट आइरहे पनि अहिले जनस्तरमा हेलचेक्राइँ बढेको पाइन्छ,’ उनले भने, ‘जनस्वास्थ्य मापदण्डको पालना छैन । संक्रमण भएर होम आइसोलेसनमा बसेकाले चिकित्सकीय परामर्शलाई ध्यानै दिन छाडे ।’
संक्रमण लुकाएर बस्ने, शरीरमा अक्सिजनको मात्रा ख्याल नगर्ने र अन्तिम अवस्थामा अस्पताल ल्याउँदा बिरामी बचाउन नसकेर पछिल्लो समय परिस्थिति जटिल बनिरहेको डा। खड्काको भनाइ छ ।
उनका अनुसार स्वास्थ्यमा ध्यान नदिने एवं आफूखुसी औषधि सेवन गर्ने गर्दा संक्रमितको अवस्था जटिल बनेपछि अस्पताल ल्याउने गरिएको पाइन्छ । ज्वरो बढ्ने र शरीरमा अक्सिजनको मात्रा पनि कम भएपछि हतारहतार गरेर अस्पताल ल्याउने गरिएको डा। खड्का बताउँछन् । ‘सुरुमा संक्रमित खतारमुक्त छ कि छैनभन्ने थाहा पाउनुपर्छ । अवस्था सामान्य हुँदा चिकित्सकीय परामर्शमै होम आइसोलेसनमा बस्न सकिन्छ,’ उनी भन्छन्, ‘तर यस विषयमा कसैको ध्यान गएकै छैन । स्वास्थ्यमा समस्या थपिन थालेर बिरामीको अवस्था गम्भीर बनेपछि अस्पताल ल्याउँदा त्यतिबेला बचाउनसक्ने अवस्था नै हुँदैन ।’
जनस्तरमा कोरोनालाई हल्का लिन थालिएकाले पछिल्लो समय संक्रमण र मृत्युदर पनि बढ्न थालेको उनको भनाइ छ । सबैमा खोपको पहुँच पुर्याएर सरकारले कडाइ गर्दै जनचेतना फैल्याउन आवश्यक रहेको डा। खड्काले बताए । नत्र संक्रमण अनियन्त्रित हुँदा अवस्था भयावह बनेर ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।
जनस्वास्थ्य विज्ञ डा। नवराज सुब्बाले फैलिएपछि व्यवस्थापन गर्नेभन्दा पनि संक्रमण फैलन नदिने उपाय खोज्नेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘पछिल्लो समय अवस्था निक्कै असामान्य र सोचेभन्दा गम्भीर भइसकेको छ,’ उनले भने, ‘संक्रमण र मृत्यु दर बढ्दै गइरहेको छ ।’ बढ्दो नागरिक बेवास्ता, कमजोर नियन्त्रण कार्यशैली, जनस्वास्थ्य मापदण्डको उल्लंघन र अत्याधिक चहलपहलले संक्रमण बढेको सुब्बाले बताए ।
‘हामी तेस्रो भेरियन्ट र ठूलो क्षतिनजिक रहेकाले निक्कै खराब अवस्थाको सामना गर्नुपर्ने दिन अब टाढा छैन,’ उनले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना र सावधानीमा ध्यान दिँदै मुलुकको स्वास्थ्य प्रणालीलाई चुस्त एवं सक्रिय बनाएर तयारी अवस्थामा राख्नुपर्छ ।’ सरकार र जनस्तरबाट गल्ती दोहोरिए क्षति रोक्नसक्ने अवस्था नहुने सुब्बाले बताए ।
सम्भावित क्षतिलाई ध्यानमा राखेर जनचेतनालाई प्राथमिकतमा राख्दै कडाइका साथ नियन्त्रण एवं रोकथामको तयारी थालेर खोपको प्रभावकारी एवं व्यवस्थित वितरणलाई जोड दिइनुपर्ने उनको भनाइ छ ।
प्रदेश १ मा सोमबारसम्ममा १ लाख २५ हजारभन्दा बढीमा संक्रमण यकिन भएको छ । एक हजार सात सय जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । पछिल्लो एक सातामा मात्रै ७४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताए । उनका अनुसार हाल प्रदेशमा ७ हजार पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये साढे छ हजारभन्दा बढी होम आइसोलेसनमा रहेको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया