जापान सरकारको सहयोगमा हेदाङनामा हिमालय माविको भवन निर्माण हुने



संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको उतरीक्षेत्र मकालु गाउँपालिका–३ गोलेचौर हेदाङना स्थित हिमालय माध्यमिक विद्यालयको शिलान्यास गरिएको छ ।

आज मंगलबार एक कार्यक्रम बीच मकालु गाउँपालिकाका उपाध्यक्ष मनकला राईले निर्माणधीन भवनको शिलान्यास गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष राईले दाताहरूको सहयोग जुटाएर गाउँ गाउँ शिक्षामा आमुल परिवर्तनका लागि लाग्नुहुने लाक्पा शेर्पालाई विशेष धन्यवाद दिदै स्थानीय सरकार साझेदारीमा काम गर्न अग्रसर रहेको बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि एनपीओ नेपाल स्वयंमसेवक समाज नेपालका अध्यक्ष लाक्पानुर्बु शेर्पाले गाउँका विद्यार्थीहरूले पनि सुविधा सम्पन्न विद्यालयमा गुणस्तरीय शिक्षा लिने अवसर पाउनुपर्ने बताए । उनले निकै लामो कसरत पछि दातासँग कार्यक्रम संम्झौता गर्न सफल भएको बताए ।

उक्त हिमालय मावि जापान सरकारको सहयोगमा सुविधा सम्पन्न १२ कोठे भवन बन्न लागेको हो । गएको कात्तिक ३ गते बिहिबार काठमाडौंस्थित जापानी राजदूतावासमा नेपालका लागि जापानका राजदूत किकुता युटाका र एनपीओ नेपाल स्वयंमसेवक समाज नेपालका अध्यक्ष लाक्पानुर्बु शेर्पा बिच अनुदान संम्झौतापत्रमा हस्ताक्षार भएको हो ।

यो परियोजना जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स ९जीजीपी० को लागि अनुदान सहायता अन्तर्गत वित्त पोषित कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिने गरि संम्झौतापत्रमा हस्ताक्षार भएको छ । संस्थाले नेपाली रुपैया २ करोड ३२ लाख रुपैया र स्थानीय सरकार मकालु गाउँपालिकाले करिब २१ लाख रुपैया गरि कुल २ करोड ५३ लाख रुपैयाको लागतमा निर्माण हुनेछ ।

हेदाङनास्थित हिमालय माध्यमिक विद्यालय विसं २०१७ स्थापना भएको हो । उक्त विद्यालयमा ३८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भवन जीर्ण भएकाले पठनपाठन असुरक्षित भएपछि दाताको सहयोगमा निर्माण हुने भएको हो ।

यसअघि पनि एनपीओ नेपाल स्वयंसेवी समाज सेवा संस्थाले मकालु गाउँपालिका–६ स्थित बास्थला विद्यालय भवन निर्माण गरिसकेको छ ।

सम्बन्धित समाचार