कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्छ : मन्त्री बस्‍नेत



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित जनसंख्या र विकाससम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताएका हुन्।

उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए। आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए। उनले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापनबिना राष्ट्रको विकास सम्भव नहुने बताए।

उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताए।

मन्त्री बस्नेतले केही दिनअघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडि बढेको बताए।

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्तबमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए।

उनले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरू सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको पनि उल्लेख गरे। मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताए।

त्यसैगरी, डाक्टरले दिने प्रेस्किप्सनको समेत अडिट हुने गरेको उनले बताए। मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताए।

सम्बन्धित समाचार