इनरुवादेखि तुम्लिङटारसम्मको प्रशारणलाइनको निर्माण सकियो



धरान,  तेह्रथुम, संखुवासभा र भोजपुरमा निर्माण सम्पन्न हुन लागेका र भइसकेका आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु नपर्ने भएको छ ।

२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइनको केही खण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको अघिल्लो कार्यकालमा उनले सो प्रसारण लाइन निर्माणका लागि हदैसम्मको चासो लिएका थिए । प्रसारण लाइनको पूरा खण्ड निर्माण नसकिए पनि तत्कालका लागि ३३ केभी क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार २२० केभी क्षमताको प्रसारण लाइनलाई ३३ केभीमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो चरणमा तुम्लिङटार इनरुवा खण्डमा प्रसारण लाइनको टावर निर्माण तथा लाइन तान्ने काम सकिएको छ । आयोजना प्रमुख नवराज ढकालले इनरुवामा सवस्टेशन तयार नभएकाले तत्कालका लागि ३३ केभीमा सञ्चालन गर्न लागिएको हो ।

हाल प्रसारण लाइनको परीक्षण भइरहेको छ । निजी ऊर्जा उत्पादकले प्रसारण लाइनको अभावमा बिजुली खेर जान लागेको भन्दै गुनासो गरेका थिए ।

सोही गुनासोलाई सम्बोधन गर्दै तत्कालका लागि क्षमता घटाएर भएपनि प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको हो । सो प्रसारण लाइनमा कुल ३२६ टावर निर्माण गर्नुपर्ने थियो । ती सबै टावर निर्माण सकिएको छ । इनरुवामा सवस्टेशन तयार नभएकाले हाल बिजुली भने चतरा लैजान खोजिएको छ । सो प्रसारण लाइन सञ्चालनमा आएपछि कुल ३३ मेगावाट बिजुली प्रणालीमा जोडिनेछ ।

हाल सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ ।

तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ ।

सम्बन्धित समाचार