दार्चुला, दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ ।
मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लट्ठा खुस्काइदिएको थियो । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ उच्च स्रोतले कान्तिपुरलाई बतायो ।
‘जयसिंह धामी तुइन तर्दातर्दै महाकालीको भेलमाथि पुगेपछि भारतीय पक्षबाट लट्ठा खुस्काइएको स्थलगत अध्ययन र अनुसन्धानबाट देखिन्छ, प्रतिवेदनको निष्कर्ष पनि यही नै हुनेछ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘लट्ठाको सहारा गुमेपछि धामी महाकालीमा खसे ।’ नदीको उर्लंदो भेलमाथि जोखिम मोलेर मान्छे तर्दातर्दै यसरी तुइनको लट्ठा खुस्काउनु अमानवीय मात्रै होइन, मानवताविरोधी अक्षम्य अपराध पनि हो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ ।
छानबिन समितिले यसलाई नै प्रमुख आधार बनाएर सरकारलाई रायसुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना हुँदा मालघाटमै रहेका नेपाली प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको लट्ठा काटेपछि धामी भेलमा खसेको बताएका थिए । धामी बेपत्ता भएको पर्सिपल्ट साउन १७ मा सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका
अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सम्मिलित पाँच सदस्यीय समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।
भारतीयले लट्ठा खुस्काएको स्थान भारतीय भूभाग गस्कु हो । नेपालकै भूमिबाट सदरमुकाम खलंगा आउजाउ गर्न कठिन भएका कारण नेपालतर्फका मानिस तुइनबाट गस्कु हुँदै भारतीय बाटोबाट खलंगा जाने गर्थे । त्यही क्रममा साउन १५ मा धामीसहितका नेपाली तुइन तर्दै थिए । अरू बेला पनि तुइन तर्दा एसएसबीका जवान आएर कुटपिट गर्ने, मान्छे नभएको मौकामा लट्ठा काटिदिने गरेका थिए ।
‘लट्ठा खुस्काएपछि धामी नदीमा खसे, सायद मानवताविरोधी जघन्य अपराधको त्यही दृश्य देखेर हुन सक्छ, गस्कुमा भएका भारतीय त्यसपछि भागे ।’ स्थानीयले भागेका मानिस एसएसबीकै जवान भएको बताएका छन् । तुइन भएको गस्कुबाट भारतीय एसएसबीको क्याम्प करिब डेढ किमिमाथि पाङ्ला भन्ने स्थानमा छ । उक्त क्याम्पको नेतृत्व एसएसबीका सब–इन्स्पेक्टर (सई) ले गर्छन् । तर, घटनास्थलमा भएका मानिसको खोजबिनमै भारतले असहयोग गर्यो ।


प्रतिक्रिया