काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा १४ सांसद र १७ केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत भएको छ।
उनीहरुले बुधबार निर्वाचन आयोग पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन्। जसपामा ३७ जना संघीय सांसद र ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य थिए। सनाखत गर्नेको संख्या दुवैतर्फ २० प्रतिशतभन्दा बढी भएकाले लोसपा दर्ता हुने निश्चित भएको छ।
पार्टी दर्ताको प्रमाणपत्र आजै दिने निर्वाचन आयोगको तयारी छ। जसपाबाट लोसपाको पक्षमा उभिएका संघीय सांसदहरुमा महन्थ ठाकुर,राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दलारीदेवी खत्वे, कल्लुदेवी विक र शेखरकुमार सिंह रहेका छन् ।
सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए। अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडी बढ्ने उनको भनाइ छ।
प्रतिक्रिया