अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिर यो वर्षकै उत्कृष्ट



काठमाण्डौ । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्नुभएको छ । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उहाँलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो ।

तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिरहन्छ । फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताउनुभएको छ ।

‘सीमा पर्खालले पूरै मरुभूमि र पहाडलाई नाघेको छ र १५ सय बढी जनावर र बिरुवाको जैविक विविधतामा बाधक बनेको छ’, प्रिइटो भन्नुहुन्छ, ‘मैले धेरै जनावर तथा चराहरु पर्खालसम्म पुगेको र पारिपट्टि जान नसकेर फर्केको देखेको छु ।’

प्रतियोगितामा सहभागी २२ हजार तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ को उत्कृष्ट भएको बीबीसीले जनाएको छ । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको छ । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री गर्दै आउनुभएको छ ।

सीमानाकाका पर्खालले जनावर तथा धेरै उड्न नसक्ने चराहरुलाई बसाइँसराइ गर्नमा समस्या देखिने गरेको छ । यसले गर्दा प्रजनन तथा आनुवंशिक निरन्तरतामा बाधा पुग्ने बताइएको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा बहस पनि हुँदै आएको छ ।

सम्बन्धित समाचार