विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्र राईले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यमाथि व्यवस्था समाप्त पार्ने प्रतिगामी कित्ताका पक्षमा उभिएको आरोप लगाएका छन्।
प्रदेश निर्वाचन कार्यालयमा एकीकृत समाजवादी दलमा सनाखतपछि बुधबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँ प्रतिगामी कदमको पक्षमा उभिनुभयो। त्यसैले हामी त्यसको विपक्षमा उभियौँ।’
राईले नवनियुक्त मुख्यमन्त्री आचार्यलाई नैतिकताका आधारमा पद छाड्न आग्रह गरे।
‘अल्पमतमा परेको उहाँहरूलाई थाहा भइसकेको छ, त्यसै कारण हामी केही समय पर्खन्छौं,’ उनले भने, ‘नैतिकताको रूपमा उहाँहरूले छाड्नुहुन्छ भनेर १/२ दिन प्रतीक्षा हामी गर्छौँ।’
तत्काल १० सांसदले नयाँ दल रोजे पनि केही दिनभित्रै अन्य सांसद पनि थपिने दाबी उनले गरे। उनले आफू मुख्यमन्त्रीको दाबेदार नरहेको बताउँदै भने, ‘देशैभरि गठबन्धनको सरकार बनिरहेको अवस्थामा छ। सबै दलको सरकार बनिसकेको छ। त्यसैले एकीकृत समाजवादी पार्टीको नेतृत्वमा कहीँ पनि सरकारको नेतृत्व छैन। त्यसैले हामीले मुख्यमन्त्री आश गरेका हौँ।’
बुधबार निर्वाचन कार्यालय पुगेर नेकपा एमालेका सांसद राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी, सरिता थापा र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।
प्रदेशसभामा नेकपा एमालेका ५१ सांसदमध्ये १० सांसदले नयाँ पार्टी रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन्।


प्रतिक्रिया