इटहरी अस्पतालको चरम लापरबाही : कोरोनाको पहिलो र दोस्रो डोजमा लगाइयो फरक-फरक खोप



इटहरी । इटहरीमा कोरोना भाइरस विरुद्धको पहिलो र दोस्रो डोजमा फरक फरक खोप लगाइएको छ । पहिलो डोज भेरोसेल लगाएकी महिलालाई कोभिशिल्डको दोस्रो डोजको रूपमा नेपालमा प्रयोग गरिएको एस्ट्राजेनेका खोप लगाइएको हो ।

इटहरी १९ तरहराकी ५५ वर्षीया लक्ष्मीमाया पुरीलाई पहिलो डोज भेरोसेल लगाएपनि दोस्रो डोज भने एस्ट्राजेनेका खोप लगाइएको छ । गत श्रावण ११ गते भेरोसेलको पहिलो डोज लगाएकी उनलाई भदौ १३ गते एस्ट्राजेनेका खोप लगाइएको पाइएको हो । हाँसपोसा स्वास्थ्य चौकी तरहराका स्वास्थ्यकर्मीको लापरबाहीले गलत खोप लगाइएको हो । एस्ट्राजेनेका गत बर्ष भारतको कोभिशिल्ड खोपको दोस्रो डोज खोप हो । भारतले कोभिशिल्ड खोप नदिएपछि विकल्पमा एस्ट्राजेनेका लगाइदैछ ।

पहिलो डोज भेरोसेल लगाएकालाई एस्ट्राजेनेका लगाउनु लापरबाही भएको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले पुर्वेली न्यूजलाइ बताए । “यसरी खोप लगाउदा असर गरेको भए १ घण्टा सम्ममा त्यसको असर देखिनु पर्ने हो । उहाँ अहिले सम्म ठिकै हुनुहुन्छ भन्ने बुझेका छौ, आत्तिनु पर्ने अवस्था छैन् ।” उनले भने “मानवीय कमजोरी र भिडभाडले गर्दा कमजोरी भयो, उहाँलाइ केहि समस्या देखिए तत्काल सम्पर्कमा आउन भनेका छौँ ।”

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीलाइ समेत यस बिषयमा जानकारी गराएको उनले बताए । यस्तो घटना सार्वजनिक भए पश्चात सबै स्वास्थ्यकर्मीलाइ सचेत गराइएको धमलाको भनाइ छ ।

 

सम्बन्धित समाचार