अमेरिकासँगको खेलमा नेपाल ब्याटिङ गर्दै, राष्ट्रिय टोलीमा गुलशनको डेब्यु


१ आश्विन २०७८, शुक्रबार


काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।

ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल अहिले सवा ४ बजे सुरु हुँदैछ । आजको खेलमा नेपालले बलर विक्रम सोबको ठाउँमा गुलशन झालाई राखेको छ । झाले राष्ट्रिय टिममा डेब्यु गर्न लागेका हुन् ।

मेयर्स कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका उनले आज डेब्यु गर्न लागेका हुन् ।

प्रतियोगिताअन्तर्गत गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै मङ्गलवार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो ।

अमेरिका र ओमानबीच हिजो भएको खेलमा अमेरिकालाई ओमानले चार विकेटले हराएको थियो ।

लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।

सम्बन्धित समाचार