वि.सं. १८५२ मा प्राप्त मादी विर्तामा अझै पनि जग्गा विवाद कायम



मादी । आज भन्दा २ सय २६ वर्ष अघि वि.सं. १८५२ मा प्राप्त गरेको मादी विर्तामा मोही किसान र मुखिया बिचको जग्गा विवाद कायमै रहेको छ । साबिक मादी राम्वेनी गाउँ विकास समिति हाल मादी नगरपालिका वडा नं. ४, ५ र ६ मा जग्गा समस्या रहेको हो । २०१६ सालमा नै विर्ता उन्मुलन भएपनि हालसम्म किसानका समस्या रही आएको छ ।

२०५२/०५३ सालपछी विभिन्न कारणले ठेककुत तिर्न समस्या भएपछी अहिले पनि जग्गाको विवाद समाधान हुन सकेको छैन ।

मुखियाहरु अहिले मोही किसानलाई सम्झौता मुताविक ठेककुत तिर्न आग्रह गरिरहेका छन् । मोही किसान भने मुखियालाई बुझाउनु पर्ने ठेककुत तत्कालिन माओवादीलाई बुझाएपछी दोहोरो ठेककुत तिर्न नसक्ने स्थितिमा त छदैँछन् । १५ वर्ष अघिदेखिको बुझाउनु पर्ने ठेककुतको हिसाब गर्ने हो भने कुनै मोही किसान पनि ठेककुत तिर्न सक्ने अवस्थाका छैनन् । केही मुखियाहरु अहिले पनि किसानलाई सस्तोमा जग्गा बिक्रि गर्न खोजीरहेका छन् । तर केही किसानहरु जग्गा खरिद गर्ने आर्थिक अवस्थाका छैनन् भने केही शहर बसाई सर्ने कारणले अन्यौलतामा छन् । केही किसानले मुखियाबाट जग्गा खरिद गरिसकेका छन् भने अन्य किसान र मुखियाबिचमा समन्वय हुन नसक्दा जग्गा खरिद विक्रिमा नै समस्या भएको मोही किसान सुरेन्द्र गोलेले बताए ।

जग्गा समस्या समाधान नहुँदा मोही किसानहरुलाई समस्या पर्दै आएको छ । कुनै पनि अवस्थामा रिण लिन र दिनका लागि धनीपुर्जा नहुँदा समस्या हुने गरेको छ । बाउबाजेले उपभोग गर्दै आएको जग्गामा करिब ६ पुस्ता बितिसकेको छ । तर त्यहीँ पुस्तौं बितेको माटो आफनो लागि एक मुठि पनि नभएको मोही किसान काली बहादुर दर्जी दुखेसो पोख्छन् । छोराछोरीलाई वैदेशिक रोजगारीमा पठाउन रिणपान गर्न धनीपुर्जा कै भर हुने रहेछ तर त्यसकै अभावमा हाम्रो पुस्ता गुज्रिरहेको छ दर्जीले भने ।

मुखियाहरु अहिले चाहीँ कानुन अनुसार किसानलाई जग्गा दिने हो भन्ने कानेखुशी हुन थालेको छ । तर किसानहरु यतिञ्जेलसम्म स्याहार गरेका उनीहरुको जग्गामा आफ्नो परिश्रमको मूल्य खोजीरहेका छन् । वर्षौदेखि समस्या रही आएको मादी विर्ताको समस्या समाधानका लागि मुखिया र मोही किसान बिच सहमति हुन आवश्यक छ । मादी नगरपालिका वडा नं. ५ का अध्यक्ष समेत रहेका नेत्रप्रसाद दाहाल मादी विर्तावालाहरु कै सन्तान हुन् । उनले मोही किसान र मुखिया दुवैलाई मार नपर्ने गरी जग्गाको समस्या समाधान गर्नुपर्ने बताए । केही अघि आफुले पनि मोही किसानलाई चित्त बुझाएरै उनीहरुले पाउनु पर्ने र आफूमा रहने गरी जग्गाको समस्या समाधान गरेको उनको भनाई छ । सोही बमोजिम अन्य जग्गाधनीहरुले पनि तत्काल सहज वातावरण बनाएर मादीमा सुकुम्बासी समस्याको हल गर्न अनुरोध गरेका छन् ।

हालसम्म मादी नगरपालिका न्यायिक समितिमा जग्गा विवादका ९ वटा घटनाहरु दर्ता भएका छन् जस्मा ४ वटा दुवै पक्षको मिलेमहतोमा न्याय सम्पादन भइसकेको छ भने अन्य घटनाहरु सिमा नक्सांकन तथा न्याय सम्पादनको क्रममा रहेको न्यायिक समितिका संयोजक तथा मादी नगरपालिकाका उपप्रमुख उर्मिला सुवेदी (नेपाल)ले बताए । जग्गाधनी र किसानबिच सहमती हुँदा न्याय सम्पादनमा समेत सहज हुने तर यी दुई बिचमा एक पक्ष र अर्को पक्षबिच अडान नछोड्ने हो भने मेलमिलापको वातावरण नभएर यस्को समस्या समाधान नहुने भन्दै सबैमा सहमतिको वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

मादीमा सुकुम्बासी समस्या समाधानका लागि मादी नगरपालिकाले समस्या भएका जग्गाधनी र मोहीकिसानबाट निवेदन माग गरेको थियो । सोही बमोजिम तीन सय भन्दा बढी जग्गामा समस्या रहेको भन्दै निवेदन परेको नगरपालिकाका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । उक्त समस्या समाधानका लागि विभिन्न समिति समेत गठन गरिएको छ तर यसैबिच कोरोना भाइरसका कारण लकडाउनमा परेपछी उक्त विषयमा प्रक्रियागत काम कारबाही अघि बढ्न नसकेको प्रमुखको भनाई छ । तर अब भाइरसको संक्रमण पनि कम भएको र सबै कुराहरु सामान्य अवस्थामा फर्किदै गरेको हुनाले यो समस्या समाधान गर्न सुरु गरिने बताए ।

विकास र सेवा सुविधाले जोडिईसकेको मादी विर्तामा समय अनुसार नै जग्गाको मूल्य आकाशिएको छ । साँच्चै भन्ने हो भने मादी विर्ताका जग्गाहरु मुखिया र मोही दुवैलाई लोभ लाग्दो छ । दुई शताब्दी पुरानो मादी विर्ता समस्या समाधान हुने हो भने विभिन्न कालखण्डमा किसानका समस्यालाई लिएर नेतृत्व गर्नेहरु र हालका सुकुम्बासीहरुको पुर्नस्थापना हुनेछ । भने मोही किसान र मुखियाहरु बिचको तित्तता हट्ने र मादी विर्तामा उनीहरुको सुमधुर सम्बन्ध बढ्ने निश्चित छ ।

 

सम्बन्धित समाचार