भक्तपुरमा मनाइने पुलुकिसी जात्रा सम्पन्न



काठमाण्डौ । भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी जात्रा सम्पन्न भएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी सुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाएको छ ।

आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन हिजो लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाएको हो ।

पुलुकिसीलाई चार जनाले बोकेर त्यसको मुनि एक जनाले घण्टा बजाएर अगाडि पछाडि दौडाउँदै नगरपरिक्रमा गरिने परम्परा रहेको छ ।

जात्रामा पुलुकिसीलाई टोलटोल घुमाउँदा त्यसको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको बेला पुलुकिसी अगाडि आएपछि सुँढले छोला भनेर जात्रालु परपर जाने गर्दछन् ।

हिजो इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी घुमाइसकेपछि योःमद्योलाई उखेली जात्रा सम्पन्न गरिएको हो । त्यसैगरी हिजो नै भक्तपुरमा याँःमता अर्थात आकाश दीप बालेर भैरवको खटजात्रासहित मूःपात्र जात्रासमेत मनाएको छ । तीन दिनसम्म मनाइने मू(पात्र जात्रा पनि हिजो नै सम्पन्न भएको हे ।

राक्षसका रूपमा लिइने मूपात्रलाई तरबार समात्न लगाएर नगरपरिक्रमा गराएर सम्पन्न गरिएको छ ।

नगरको टोलटोलमा ठड्याइएको यमःदयोलाई मू(पात्रले तीन पटक घुमेर तरबारले हान्ने प्रचलन रहेको छ । मू(पात्र जात्रा सुरु हुनुअगाडि दत्तात्रय मन्दिर अगाडि त्रिशूल आकारको एक जोडी याँमता बालेर तचपालमा रहेको सँला गणेशलाई खटमा राखेर जात्रा गरिएको छ ।

सम्बन्धित समाचार