स्वास्थ्य सेवा मुल्याङ्कनमा सिलिचोङ बन्यो सर्वोत्कृष्ठ



खाँदबारी । आर्थिक बर्ष २०७७।७८ को कार्य सम्पादन तथा स्वास्थ्य सेवा प्रबाहमा सिलिचोङ गाउँपालिका सर्वोत्कृष्ठ बनेको छ । संखुवासभाका १० स्थानीय तहहरु मध्ये सिलिचोङ गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

सेवा प्रबाह, स्वास्थ्य उपकरण, भौतिक पुर्वाधार लगायतको ब्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो । यस आर्थिक बर्षमा १०० पुर्णाङ्कमा ७६.९ अंक प्राप्त गरेको हो । उत्कृष्ठ बनेको सिलिचोङलाई कार्तिक ४ र ५ गते खाँदबारीमा आयोजित समिक्षा गोष्ठिमा प्रसंसा पत्र प्रदान गरिएको छ । प्रशंसा पत्र स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङलाई हस्तान्तरण गरिएको थियो । सिलिचोङमा खोप कार्यक्रमलाई थप ब्यवस्थित गर्ने, छयरोग सम्बन्धी कार्यक्रम थप प्रभावकारी बनाउन सके प्राप्ताङ्क अझ बढ्ने स्वास्थ्य शाखा प्रमुख कुलुङको भनाई छ ।

गाउँपालिकाका नागरिकहरुलाई दिईने सेवा प्रबाह, कार्य सम्पादन लगायतको विषयमा सिलिचोङ प्रथम हुनुमा सरोकारवाला सवैको सहयोग रहेको स्वास्थ्य शाखा प्रमुख कुलुङको भनाई छ । महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधीहरु लगायत सवैको सहयोगले यो उपललिब्ध प्राप्त भएको कुलुङले बताए । सरोकारवाला सवैको सहयोगले आगामी दिनमा नागरिकहरुलाई थप प्रभावकारी सेवा दिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

सुचाङ्कको आधारमा ६७.२ अंक ल्याएर मकालु गाउँपालिका दोश्रो भएका छन् भने ६४.९ अंक ल्याएर मादी नगरपालिका तेश्रो भएका छन् ।

सम्बन्धित समाचार