एमालेको १० औँ महाधिवेशन : विद्युतीय मतदानकोे अभ्यास गराइँदै


२४ कार्तिक २०७८, बुधबार


काठमाण्डौ । नेकपा एमालेले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमुना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेशिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमुना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेशिनबाट एमालेले आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ ।

‘आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेशिनबाट कसरी मतदान गर्ने भनेर नमुना मतदान गरिरहेका छौँ’, राम–लक्ष्मण इनोभेशनका निर्देशक लक्ष्मण रिमालले भन्नुभयो, ‘पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनुभएको छ ।’

उहाँका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेशिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेशिनबाट नमुना मतदान गरिरहेको र महाधिवेशनस्थलमा भने तीन वटा मेशिनबाट नमुना मतदान गराइने उहाँले जानकारी दिनुभयो । एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेशिन प्रयोग गरेर मतदान गर्ने भने पनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यस पटक एमालेले महाधिवेशनमा चुनावका लागि विद्युतीय मेशिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेशनसँग सम्झौतासमेत गरिसकेको छ ।

निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेशिनमा नमुना मतदान गराइने बताउनुभयो ।

विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले एक सय वटा विद्युतीय मेशिन राख्ने तयारी गरेको छ । एक मेशिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा दुई सय २५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५र१५ जना गरी कुल दुई सय ५५ पदका लागि चुनाव हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताउनुभयो । ‘जम्मा ४८ थरिका पदका लागि झन्डै पाँच सय जना उम्मेदवार हुने हाम्रो अनुमान छ’, उहाँले भन्नुभयो, ‘त्यहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रतिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आकलन छ ।’

चुनावमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेशिनमा रहने छन् । उहाँले चुनाव सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

एमालेको महाधिवेशनमा एक हजार नौ सय ९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले ती मेशिन प्रयोग गर्न लागिएको जानकारी दिँदै देशको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरू दललाई प्रेरणा मिल्न सक्ने जनाउनुभयो । नवौँ महाधिवेशनमा मेशिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लागेकाले त्यसको तुलनामा मेशिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने जनाउनुभयो ।

सम्बन्धित समाचार