खाँदबारी । संखुवासभाका चैनपुर नगरपालिकाको विभन्न स्थानहरुमा लगाईएको उखु पेल्न गत बर्षसम्म नै गोरुको भर पर्नु पथ्र्यो । एक बान (करिव डेढ सय लिटर) सक्खर पकाउनका लागि तीन घण्टा भन्दा बढी पेचा (उखु पेल्ने उपकरण) मा गोरु घुमाउनु पथ्र्यो ।
तर यस बर्ष भने चैनपुर नगरपालिकाले लागत साझेदारीमा उखु पेल्ने मेसिन कृषकलाई उपलब्ध गराएपछि घण्टौ लगाउनु पर्ने समस्या सकिएको छ । अहिले मेसिन ल्याएसँगै ३ घण्टा लाग्ने काम एकै घण्टामा सकिने गरेको छ । चैनपुर नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँ पर्ने ३ वटा उखु पेल्ने मेसिन ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।
अघिल्लो बर्षसम्म नै दुखले उखु पेलेर सक्खर बनाउदै आएका कृषकहरु अहिले खुसी छन् । उखु पेचामा हालेर एक बानबाट सक्खर तयार गर्न पुरै एक दिन लागेको तर अहिले झण्डै ५ घण्टामा नै सक्खर तयार हुने गरेको कृषक मोतिमाया श्रेष्ठले बताउनुभयो । यस अघि गोरु नहुनेलाई उखु पेल्नै समस्या परेको श्रेष्ठको भनाई छ । ‘गाउँमा गोरु नै कम हुने र हुनेहरुलाई दाम दिन्छु भन्दा पनि पाईदैनथ्यो’, श्रेष्ठले भन्नुभयो । तर अहिले एक बान रस निकाल्न २ सय रुपैयाँको पेट्रोल ल्याए पुग्ने श्रेष्ठको भनाई छ ।
उखुको रस निकाल्न अत्यन्तै सहज भएपनि रस पकाउन आगोको भट्टिमा घण्टौं पकाउनु पर्छ । यसरी पकाएर तयार भएको सक्खर विक्रि गर्न समस्या रहेको कृषकहरुको भनाई छ । यी दुई समस्या समाधान भए कृषकहरुलाई पुर्ण सुविधा प्राप्त हुने कृषकहरुको दावी छ । रस पकाउन भट्टि लगाउदा पर्याप्त दाउरा चाहिने र समय पनि लाग्ने भएकोले विद्युतीय भट्टि भए सहज हुने कृषकहरुको भनाई छ । अहिले आगोमा रस पकाएर सक्खर तयार गर्न करिव ५ घण्टा लाग्ने गरेको किसानहरु बताउछन् ।
तयार भएको सक्खर बजारसम्म लैजान बाटोको असुविधा रहेको कृषकहरुको गुनासो छ । गाउँसम्म सडकको ट्रयाक खुलेको भएपनि हिलाम्य भएकोले सानो सवारी साधानबाट बजार लैजान नसकेको कृषकहरुको भनाई छ । अहिलेसम्म डोकोमा बोकेर नजिकैको चैनपुर र खराङ बजारसम्म लैजाने गरेका छन् । बोकेर लगेको सक्खर घरघरमा बेच्न लैजानु पर्ने भएकोले त्यसको विकल्पमा एक निश्चित विक्रि केन्द्र भए आफुहरुलाई सहज हुने उनीहरुको माग छ । पछिल्लो समय सक्खरको विचौलीयाहरुको कारण सक्खरको मुल्य घट्न थालेकोले पनि निश्चित विक्रि केन्द्रको निर्माण गर्न नगरपालिकासँग कृषकले माग राख्दै आएका छन् । अहिले एक डल्लो (करिव १ केजी) सक्खरको मुल्य १ सयदेखि १ सय ३० रुपैयाँसम्म पर्ने गरेको छ ।
कृषकहरुको माग र समस्याको बारेमा नगर प्रमुख भरत खत्रीसँग कुरा गर्दा चैनपुर नगरपालिकाको राउत गाउँ र आसपासलाई उखु पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको बताउनुभयो । उखु प्रसोधनको लागि गत आर्थिक बर्षदेखि नै कार्यक्रमहरु राख्दै आएको र यसलाई निरन्तरता दिने नगर प्रमुख खत्रीले बताउनुभयो । कृषकहरुले राखेको बजार र प्रसोधन सम्बन्धि माग अत्यन्तै सान्दर्भिक रहेको र उनीहरुकै माग अनुसारका कार्यक्रमहरु ल्याउने तयारी गरिएको प्रमुख खत्रीको भनाई छ ।
स्वच्छ तथा गुणस्तरिय उत्पादनलाई प्राथमिकता दिई प्याकेजिङ गरेर बजारमा सहज तरिकाले पर्याउने गरि आगामी दिनमा पनि योजना बन्ने उहाँले बताउनुभयो । चैनपुर नगरपालिकामा सय परिवार भन्दा बढी उखु खेतीमा आवद्ध रहेको र बार्षिक १५ लाख रुपैयाँसम्म एकै परिवारले आमदामी गर्ने गरेको नगर प्रमुख खत्रीको भनाई छ ।
प्रतिक्रिया