ए डिभिजन लिगमा जावलखेलले हिमालयनलाई हरायो



काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई–एक गोलले हराएको हो । जावलाखेलका रुपबहादुर लामा र ओङगुना जुनियरले गोल गरे ।

खेलको १५ औँ मिनेटमा रुपबहादुर लामाले गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७१ औँ मिनेटमा हिमालयनका अमृत श्रेष्ठले गोल गरी बराबरीमा ल्याए । तर खेलको ८८ औँ मिनेटमा ओङगुना जुनियरले गोल गरेपछि जावलाखेल विजयी भयो ।

जितसँगै जावलाखेल रेलिगेशनमा पर्ने सम्भावना लगभग टरेको छ । जावलाखेल १२ खेलमा १३ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । समान खेलमा १३ अङ्क नै रहेको हिमालयन दशौँ स्थानमा छ ।

यस्तै आज बेलुका पौने ५ बजे दशरथ रङ्गशालामै मनाङ मर्स्याङ्दी क्लब र न्यु रोड टिम (एनआरटी) खेल्दैछन् ।

सम्बन्धित समाचार