फागुन १८ देखि नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिता



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। काठमाडौंस्थित पाकिस्तानी दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोली समावेश गरि प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई ४ समूह विभाजन गरि सञ्चालन गर्ने जनाएको छ। समूह ए मा पाकिस्तानी दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् भने समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जिएचसिए समावेश छन्।

यस्तै समूह सी मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन्। ४ समूहका विजेताहरू सेमिफाइनल प्रवेश गर्ने छन्।

दुई मुलुक तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए। नेपालका तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्वकप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका भएको बताए।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक पनि गरिएको थियो। ९ दिन सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान दूतावासको टिमले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ।

सम्बन्धित समाचार