ए डिभिजन लिग : १२ औँ चरणको अन्तिम खेलमा आर्मीले सङ्कटालाई हरायो



काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत १२ औँ चरणको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबले सङ्कटा क्लबलाई तीन–एक गोलले हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले सङ्कटाले लिएको अग्रतालाई उल्टाउँदै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । यससँगै आर्मीले यस संस्करणको लिगमा अपराजित यात्रालाई १ २औँ चरणको खेलमा निरन्तरता दिएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सङ्कटाले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रह्यो । १५ औँ मिनेटमा उत्तम राईको गोलबाट अग्रता लिएको सङ्कटाले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको आर्मीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै अग्रता उल्टायो ।

दोस्रो हाफमा आर्मीका लागि सन्तोष तामाङले ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि लयमा फर्किएको आर्मीले ७४ औँ मिनेटमा अग्रता उल्टायो । जर्ज प्रिन्स कार्कीले टोलीका लागि दोस्रो गोल गरे । यस्तै खेल सकिन चार मिनेट बाँकी रहँदा टेकबहादुर बुढाथोकीले टोलीका लागि तेस्रो गोल थप्दै जित निश्चित बनाए ।

जितसँगै आर्मी अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट २२ अङ्क जोडेको आर्मीले न्युरोड टिम ९एनआरटी० लाई दुई अङ्कले उछिनेको छ । पराजित सङ्कटा सातौँ स्थानमा यथावत् छ ।
योसँगै लिगमा १२ औँ चरणका खेल पनि सकिएका छन् । लिगमा अब अन्तिम १३ औँ चरणका खेल आउँदो बिहीवारदेखि हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार १३ औँ चरणका खेल दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा गरी दुई रङ्गशालामा हुनेछन् । अन्तिम चरण अन्तर्गत त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चार र सातदोबाटोको एन्फा कम्प्लेक्समा तीन खेल हुनेछ ।

लिगको उपाधि मच्छिन्द्रले जितिसकेको छ । यस्तै च्यासल र ब्रिगेड बी डिभिजनमा घटुवा भएका छन् ।

सम्बन्धित समाचार