माओवादी केन्द्रमा टर्‍यो फुटको खतरा



काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना ९एमसीसी० व्याख्यात्मक घोषणासँगै संसदबाट अनुमोदन भएपछि चर्किएको मतभेद थाती राखेर स्थानीय चुनावमा जाने भएको छ । यो सहमतिसँगै फुटको खतरा टरेको माओवादी नेताहरु बताउँछन् ।

१५ फागुनमा व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । तर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै त्यसको विरोध गरे भने गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले संसदमै फरक मत राखेका थिए ।

एमसीसी अनुमोदनको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठबारे गरेको टिप्पणीले मतभेद चुलिएको थियो । प्रचण्ड स्वयंले पार्टी छोड् भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै श्रेष्ठले आफ्नो समूहका नेताहरुसँग निरन्तर छलफल गरेका थिए । श्रेष्ठ समूहको छलफलमा माओवादी छाड्नुपर्ने आवाज चर्कै उठेको थियो ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा श्रेष्ठले पनि आफूलाई पार्टी छोड् भनेकाले प्रचण्डसँग आफ्नो सम्बन्ध कठिन क्षणमा रहेको बताएका थिए ।

तर आइतबार केन्द्रीय समितिको बैठक स्थगित गरेर बसेको केन्द्रीय कार्यालय समितिको विस्तारित बैठकमा एमसीसी अनुमोदनसँगै सुरु भएको विवाद चुनावसम्म थाती राख्ने सहमति भएको छ ।

नेता हरिबोल गजुरेलका अनुसार एमसीसी अनुमोदनप्रति नेताहरुले राखेको फरक मत, नोट अफ डिसेन्ट दर्ज हुनेछ । तर यो बैठकले कुनै निर्णय गर्ने छैन । ‘चुनाव सकिएपछि केन्द्रीय समितिमा छलफल गरेर पार्टीको धारणा बनाउँछौं । त्यसमा असहमत हुनेहरुले तलसम्म लैजान चाहे फोरम चलाउने सहमति भएको छ,’ गजुरेलले भने ।

केन्द्रीय समितिले निर्णय गर्नुअघि चुनावी घोषणापत्रमा एमसीसीबारे उल्लेख गरिने विषयबारे साझा धारणा बनाउन छुट्टै टिम बनाउने सहमति पनि भएको छ । ‘पार्टीमा विमति छ, तर बाहिर साझा धारणा लैजान टिम बनाएर गृहकार्य गर्ने सहमति भएको छ’ गजुरेलले भने ।

श्रेष्ठ समूहका नेताहरुले पनि ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनलगत्तै पार्टीव्यापी बहस छलफलमा लैजाने र एमसीसीबारे एउटा निष्कर्षमा पुग्ने सहमति भएको स्वीकार गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु आफूहरुको बाध्यात्मक कदम भएको बताएका थिए । शान्ति प्रक्रियाका बाँकी मुद्दा, सभामुखलगायतका कारण कटवाल प्रकरणजस्तै प्रत्युत्पादक हुने देखेपछि व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने बाटो लिएको उनको स्पष्टीकरण थियो ।

तर नेता श्रेष्ठले एमसीसी राष्ट्रघाती भएको र महाधिवेशनको निर्णय तथा आम कार्यकर्ताको भावना विपरीत अनुमोदन गरिएको भन्दै आलोचना गरेका थिए ।

सम्बन्धित समाचार