काठमाण्डौ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीबाट आज बुधवार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।
आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय ८२ रुपैयाँ ८१ पैसा, डिजल प्रतिलिटर ए कसय ६९ रुपैयाँ ४४ पैसा, मट्टीतेल प्रतिलिटर ए कसय १३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर एक सय ३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक सय १४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार दुई सय ४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख रुपैयाँ घाटा हुने बताइएको छ ।
आईओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टीतेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक) मा चार रुपैयाँ ६ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया