भोजपुरका दुई विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमका सुरु हुँदै



खाँदबारी । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरका दुई सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि भोजपुरका दुई विद्यालय छनोटमा परेका हुन् ।

भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा मावि र रामप्रसाद राई गाउँपालिका–३, भुल्केको पञ्चकन्या मावि ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनोट भएका हुन् । विद्यालय छनोटमा परेकाले कार्यक्रम सुरु गरिने यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए ।

प्रअ रेग्मीले भने, ‘भोजपुर जिल्लाबाट पनि दुई विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएका छन्, तोकिएको मापदण्डअनुसार अब कार्यविधिअनुसार कार्यक्रम सुरु हुन्छ ।’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेकोमा त्यहाँकोे निर्देशक समितिको बैठकले विद्यालयहरू छनोट गरेको थियो ।

कार्यक्रमका लागि छनोट भएका दुवै विद्यालयमा बाली विज्ञानको पठनपाठन हुँदै आएको छ । कार्यक्रम सञ्चालनका लागि छनोटमा परेका विद्यालयलाई अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान हुनेछ । ‘विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न कार्यक्रमले सघाउने अपेक्षा गरेका छौँ ।

यस कार्यक्रमको माध्यमबाट विद्यार्थीलाई पढ्न र सिक्नका लागि थप प्रेरणा समेत मिल्नेछ ।’ पञ्चकन्या मावि भुल्केका प्रधानाध्यापक पेशलकुमार तिमिल्सिनाको भनाइ छ ।

‘पढ्दै कमाउँदै’ विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेख गरिएको प्रक्रियाबमोजिम विद्यालयका लागि दुई किस्तामा बजेट उपलब्ध गराउने व्यवस्था छ । छनोटमा परेका विद्यालयहरूलाई पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध हुनेछ ।

छनोटमा परेका विद्यालयलाई ससर्त अनुदानअन्तर्गतको अनुदान रकम स्थानीय तहमार्फत विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था छ ।

सम्बन्धित समाचार