चिचिलाले गर्याे चालु आर्थिक बर्षको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई



खाँदबारी । चिचिला गाउँपालिकामा आर्थिक बर्ष २०७८।७९ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोश्रो चौमासिकमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम चिचिलामा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन र अन्य योजना तथा कार्यक्रम कार्यन्वयनका विषयमा उपस्थित नागरिकहरुले चासो, गुनासो र प्रश्न सोधेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष, पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष यदुकुमारी राई, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई, वडाध्यक्षहरु चन्द्रबहादुर गुरुङ, हर्क गुरुङ, आर्थिक विकास समिति संयोजक बालकुमार तामाङ लगायतले सुनुवाई गरि जवाफ दिएका थिए ।

कार्यक्रममा करिव सय जना स्थानीयको सहभागिता रहेको थियो । उपस्थित स्थानीयले विभिन्न विषयका सुचनाहरु प्राप्त नभएको, योजना तथा कार्यक्रम सञ्चालनमा राजनितिक आस्थाको आधारमा समितिहरु निर्माण गरिएको लगायतका गुनासोहरु राखेका थिए । उक्त गुनासोहरुको सुनुवाई गर्दै जनप्रतिनिधीहरुले कुन योजना तथा कार्यक्रममा त्यस्तो भएको हो यकिन गर्न अनुरोध गरेका थिए । जनप्रतिनिधीहरुको रहोवरमा उपभोक्ता समिति गठन हुने भएको भएपनि नियतबस राजनितिक ब्यक्तिहरु हावि हुन नदिन आफुहरु सचेत रहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो ।

कार्यक्रमको क्रममा उठेका सवालहरुको जवाफ दिदै जनप्रतिनिधीहरुको तर्फबाट गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र कर्मचारीहरुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको सेवा प्रबाह पारदर्शी बनाउदै सुशासन कायम गर्ने र गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रम पत्रकार ध्यान कुलुङले सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार