किभ, रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरूको नियन्त्रणमा छन् ।
युक्रेनको बुचा सहरमा ध्वस्त भएका रुसी सेनाका ट्यांक नजिकैबाट हिँडिरहेका स्थानीय । तस्बिर स् एपी
दोनेत्स्क क्षेत्रका गभर्नरले भुहेलर सहरको मानवीय सहायता केन्द्रमा रुसी फौजले गरेको आक्रमणमा कम्तीमा २ जनाको मृत्यु भएको र ५ घाइते भएका जनाएका छन् । त्यस्तै लुहान्स्क क्षेत्रमा पनि रुसी फौजले आक्रमण बढाउने त्रासबीच युक्रेनी अधिकारीले सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा जान आग्रह गरेका बीबीसीले जनाएको छ ।
युक्रेनी उपप्रधानमन्त्री इर्याना भेरेस्चुकले रुसी फौजले ‘महिला तथा बालबालिकामाथि यौन हिंसा’ गरेको आरोप लगाएकी छन् । रुसी फौजहरूले युक्रेनको बुचा सहरमा ‘युद्ध अपराध गरेको आरोपसँगै ईयू र अमेरिकाले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणा गरेका हुन् ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरी, विदेशमन्त्री सर्गेइ ल्याभ्रोभ र वरिष्ठ सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाइएको जनाइन् । त्यस्तै, रुसी वित्तीय संस्थाहरू र वरिष्ठ अधिकारीका परिवारमाथि पनि थप प्रतिबन्ध लगाइएको छ । अमेरिकाले रुसको सबैभन्दा ठूलो बैंकमाथि पनि थप प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पाँचौं चरणको प्रतिबन्धअन्तर्गत ईयूले कोइलाको आपूर्तिमा रोक लगाएको छ । त्यस्तै, रुसको स्वामित्व र सञ्चालनमा रहेका पानीजहाजलाई ईयू सदस्य राष्ट्रका बन्दरगाह प्रयोग गर्न रोक लगाएको छ ।
युक्रेनको बुचा सहरमा रुसी फौजले ‘युद्ध अपराध’ गरेको अधिकारीहरूले आरोप लगाएका छन् । त्यसबारे अन्तर्राष्ट्रिय समुदायले पनि छानबिनको माग गरेका छन् । सर्वसाधारणमाथि ज्यादती गरेका दृश्य तथा तस्बिरहरू सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले मंगलबार बुचाको भ्रमण गरेका थिए । बुचामा कम्तीमा ३ सय जनाको सामूहिक चिहान भेटिएको थियो ।
त्यस्तै, राजधानी किभबाट उत्तरी क्षेत्रमा अवस्थित बोरोड्यान्का सहरका भग्नावशेष मुनि सयौं मानिसहरू फसेको युक्रेनी अधिकारीको आशंका छ । उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका स्थानीयमाथि पनि रुसी फौजले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । सहरमा रुसी सेनाले भीषण गोलाबारी गरेको र ठूलो विध्वंस भएको जनाइएको छ । ती क्षेत्रमा भएका विध्वंसात्मक गतिविधिबारे थप विवरणहरू आइरहेका बीबीसीले उल्लेख गरेको छ ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले युरोपेली संघले रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । ‘कठिन समयमा कठिन निर्णयको आवश्यकता पर्छ,’ उनले भनेका छन् । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेभले विदेशमा रहेको रुसी सम्पत्ति हडपेको विषयमा कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेयता मंगलबार पहिलो पटक राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले ‘रुसी फौज अन्य आतंकवादीभन्दा फरक नरहेको’ बताएका थिए । ‘रुसी सेनाले निहत्था सर्वसाधारणको हत्या तथा महिलाको बलात्कार गरेका’ आरोप लगाएका थिए ।
प्रतिक्रिया