जनता समाजवादी पार्टी नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा संखुवासभा जिल्लामा स्वतन्त्र रुपमा अघि बढ्ने चेतावनी दिएको छ । जसपा जिल्ला समन्वय समिति संखुवासभाले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
नेपाली कांग्रेसले निर्णय र पाँच दलीय सहमती विपरित उम्मेद्धार मनोनयन गरेको भन्दै जसपाले आपत्ति जनाएको हो । गत वैशाख १० गते बसेको पाँचदलीय गठबन्धनको निर्णय कार्यान्वयन नभए जिल्लाभरीका मनोनयन कायम राखी स्वतन्त्र रुपमा अघि बढ्ने जनाइएको छ ।
गठबन्धनको निर्णय अनुसार मादी नगरपालिका वडा नं. १, चैनपुर नगरपालिका वडा नं. ८, खाँदबारी नगरपालिका वडा नं. २ मा वडाध्यक्ष र सदस्यहरु जसपालाई भागबण्डा लगाएर सहमति गरिएको थियो । तर सो निर्णय विपरित कांग्रेसले मनोनयन गरेको विज्ञप्तीमा उल्लेख छ ।
वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा संखुवासभामा पनि पाँच दलीय गठबन्धन कायम गरिएको छ ।
प्रतिक्रिया