मादीमा गठबन्धनको चुनावी आमसभा हुने



संखुवासभाको मादी नगरपालिकामा गठबन्दन दलहरुले चुनावी आमसभा गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको उपस्थितिमा आमसभा हुने भएको छ । बुधबार मादी नगरपालिकाको ओखरबोटे बजारमा आमसभा हुने गठबन्धन दलहरुको स्थानीय निर्वाचन परिचालन समिति मादीले जनाएको छ । जिल्लामा पाँचदलीय गठबन्धन चुनावमा होमिएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ । जिल्लामा गठबन्धनका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ । २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आकलन छ । स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा नेकपा एमाले भन्दा पाँच दलीय गठबन्धन अघि देखिएको छ ।

नेकपा एकीकृत समाजवादी र जसपाले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो देखिएको छ । एमाले फुटपछि नेकपा एमालेका तत्कालिन अध्यक्ष हेमराज घिमिरे लगायत जिल्ला स्तरीय नेता कार्यकतासमेत समाजवादीमा छन् । जिल्लाका लोकप्रिय र प्रभावशाली नेताहरु एकिकृत समाजवादीमा गएपछी नेकपा एमाले १० वटै पालिकामा कम्जोर भएको पाइन्छ ।

सम्बन्धित समाचार