आज मौसमले साथ दिने, दिउँसोपछि भने केही ठाउँमा पानी पर्ने



काठमाण्डौ । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ ।

आज तत्काल ठूलो पानी नपर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज मौसमले साथ दिने सम्भावना छ ।

दिउँसो १ बजेसम्म नै प्राय सबै ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । तर, दिउँसो १ बजेपछि भने बादल बन्ने र केही ठाउँमा पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो । यसअघि दक्षिण बङ्गालको खाडीमा विकसित भएको असानी नामक चक्रवातका कारण आज पानी पर्ने अनुमान गरिएको थियो । तर, यो चक्रवात कमजोर बनेकाले पानी पर्ने सम्भावना टरेको हो ।

आज प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली रहने अनुमान छ । यस्तै, अन्य प्रदेशमा आंशिक बद्ली हुने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले दिउँसोपछि मतदान गर्न जानेलाई भने मौसमविद्ले ओत बोक्न सुझाव दिएका छन् । दिउँसपछि एकैछिन पानी पर्ने र रोकिने भएकाले छाता, प्लाष्टिक लगायत ओत बोक्न मौसमविद्को सुझाव छ ।

सम्बन्धित समाचार