काठमाण्डौ । सरकारले आज आउँदो आर्थिक वर्ष २०७९र०८० को लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९र८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो ।
देशको अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकाङ्क्षी बजेट ल्याउने तयारी गरेको छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।
सरकारले तोकिएको सीमाभित्रै रहनेगरी बजेट ल्याउने जनाएको छ । बजेट १७ खर्ब हाराहारीको बनिरहेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी छ ।
उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिनेगरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञले पनि सुझाव दिएका छन् ।
मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई राहत पुग्ने कार्यक्रम ल्याउन र ती कार्यक्रमको कार्यान्वयन पक्षमा ध्यान दिन पनि उनीहरुको जोड छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो । तर अर्धवार्षिक समीक्षाबाट आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको थियो ।
नयाँ बजेटको कार्यान्वयनमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ । बजेट संसदमा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया