काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन्।
जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन्। भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ।
त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ। नेवार समुदायमा ऋतुअनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ।
सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ। सर्वसाधारण भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि मन्दिरको ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिए।
अनादिकालदेखि मनाईँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा गरे परम्परा छ। आजको दिन नुहाउनाले वर्षा फाप्ने नेवार समुदायमा जनविश्वास छ।
प्रतिक्रिया