वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो।
पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो। बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पुर्याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको हो।
अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहिरोबाट प्रभावितको उद्धारसम्बन्धी अभ्यास गरे। नयाँ भैरवी दल गुल्मका मेजर दिनेश चौलागाईँले बाढीपहिरो जस्ता विपत्ति आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु–याउने विधिबारेमा नमुना अभ्यास गरेको जानकारी दिए।
उनले बाढीपहिरोमा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय सहयोग गर्न सकिन्छ भन्ने अभ्यास गराएको बताए। नमुना अभ्यासमा जिल्ला स्थित सरकारी कार्यालय,नेपाल रेडक्रस सोसाइटी,जिल्ला अस्पताल,जिल्ला स्वास्थ्य, खाँदबारी नगरपालिका र सामाजिक संघ संस्थाका प्रतिनिधि पनि सहभागी थिए।
जिल्लामा पहिरोबाट गत वर्ष ११ जनाको ज्यान गुमाएका थिए।
प्रतिक्रिया