निर्वाचन हारेर पनि राजनीति जितेका अथक योद्धा ‘पहाडी’



गोपालराज पहाडी कुनै समय आदर्शले जन्माएको नाम हो । एक सम्भ्रान्त पारिवारीक पृष्ठभूमिमा जन्मिएका त्यही सुख सुविधामा हुर्किएर पनि सांसारिक तथा भौतिक सुख सुविधा भन्दा माथि उठेर देश, जनता र प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पण गरी आजीवन चारतारे झण्डाको सेरोफेरोमै जीवन बलिदान गर्ने अथक योद्धा विलय भएको आज ६ वर्ष वितिसकेको छ ।

आफ्नो जन्म नै प्रजातन्त्रका लागि भएको अनुभूति गर्नु हुँने पहाडी हक्की र प्रष्ट विचारमा अडिग हुनुहुन्थ्यो । आफूलाई लागेको र आफूले देखेको कुरालाई जस्ताको त्यस्तै राख्ने र त्यसका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुनुहुन्थ्यो । प्रजातन्त्र नै आफ्नो जीवनको अन्तिम सत्य ठानेर आजीवन राजनीतिमा होमिनु भएका पहाडीले आफ्नो जीवनकालमा धेरै कुरा गुमाउनु भयो तर राजनीतिका नाममा लाभ भन्दा अलग रहेर निष्कलंक छवी कायम गरी विदा हुनु भयो ।
यसबाट आमकांग्रेस नेता कार्यकर्ताले गौरव गर्नु पर्दछ । आज पहाडी भौतिक रुपमा हामीमाझ हुनुहुन्न । उहाँले हिजोका दिनमा देखाउनु भएको बाटो क्रमश साँगुरो र घुमाउरो बन्दै गएको छ । जुन दुर्भाग्यपूर्ण छ ।

आमाको छाप

पहाडीमा आफ्नी आमा कमला दाहालको अमीट छाप परेको थियो । उहाँकी आमा पनि निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो । त्यही प्रकृतिको स्वभाव पहाडीमा थियो । आमा आफ्नो छोराहरुलाई ठूला मान्छे बनाउन चाहानु हुन्थ्यो । त्यसबेला परिवारको आम्दानीको श्रोत केवल अन्न मात्र थियो । आफ्ना छोराहरुको पढाई खर्च जुटाउनका लागि स्थानीय बिहीबारे हाट र शुक्रबारे हाट चैनपुरमा चामल बोकाएर लानु हुन्थ्यो र बेचबिखन गरी खर्चको जोहो गर्नु हुन्थ्यो । त्यहीबाट नै तीनभाई छोराहरुको पढाई तथा बसोबास खर्चको ब्यवस्थापन गर्नु हुन्थ्यो ।
पछिल्ला दिनहरुमा पहाडी स्थानीय मादी माध्यमिक विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरेपश्चात केही सहज भएता पनि त्यो लामो समय रहेन । विद्यालयबाट राजीनामा दिएर पूर्णकालीन राजीतिमा होमिएपछि पहाडीलाई कान्छो भाई नवेन्द्रराज दाहालले सहयोग गर्दै आउनुभयो त्यो क्रम पहाडीको अन्तिम समयसम्म कायम थियो । त्यही कारणले पनि पहाडीले काठमाडौंमा बसेर पनि आर्थिक रुपले कहीं चुक्नु परेन ।

काकाबाट दिक्षित

पहाडीको राजनीतिमा आकर्षित हुनुको पृष्ठभूमि पनि रोचकको छ । वि।सं २०१२ सालमा राजा महेन्द्रको सवारी बेलटारमा भएको थियो । सो सवारीको ब्यवस्थापनको जिम्मेवारी नेपाली कांग्रेसले बहन गरेको थियो । उक्त समारोहमा लीलानाथ दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो । पहाडी त्यसबेला १० वर्षका हुनुहुन्थ्यो । लीलानाथ दाहलसँगै उक्त कार्यक्रमा सहभागी पहाडीलाई दाहालले आफूसँगै मञ्चमा राख्नु भएको थियो । मञ्चमा आफ्ना माइला बासँग बसेका पहाडीमा ठूला मानिसहरुसँग बस्न पाएकोमा गौरब मात्र भएन आफू पनि यस्तै ठूलो मान्छे भएर देश र जनताको सेवा गर्ने तिब्र अभिलाषा बृद्धि भयो । यही सहभागिता नै पहाडीको राजनाीतिमा लाग्ने प्रथम खुड्किलो बन्यो र १० वर्षको उमेरबाट नै कुनै पनि स्थानमा उच्च मनोबलका साथ प्रस्तुत हुने क्षमताको विकास भयो जुन उहाँको जीवनकाल भर कायम रह्यो ।

कक्षाका नेता

विद्यार्थी कालदेखि नै नेतृत्व क्षमता भएका पहाडीले दाहाल नलेखेर पहाडी उपनाम राख्नुको पृष्ठभूमि रोचक छ । काठमाडौं स्थित ‘ज्ञानगुनका कुरा’ मासिकले बद्री पहाडीको ९कृष्ण पहाडीका पिता० नाममा प्रकाशित गरेको अक्षरको अभिवादन शीर्षकको लेखमा उल्लेख गरे अनुसार ७ कक्षामा पढ्दै रहँदा कक्षामा नेता चुन्ने चलन थियो । यसरी चुनिएको नेतालाई मनिटर भनिन्थ्यो । त्यसबेलासम्म उहाँको नाम गोपालराज दाहाल नै थियो । गोपालराज दाहाल ७ कक्षाको मनिटर चुनिएपछि उहाँका गुरु गणेश बहादुर प्रसाईले अब आजदेखि तिमी अरु दाहाल भन्दा फरक भयौ त्यसैले दाहाल नलेख पहाडी लेख भन्नु भएछ । उसै समयदेखि गोपालराज दाहालमा पहाडी भनेको अगुवा हुँदोरहेछ भन्ने प्रभाव परेको हुनाले दाहाल नलेखेर पहाडी लेख्न थाल्नु भएको र सोही पहाडी नै उहाँको बास्तविक र

राष्ट्रिय पहिचान बन्यो ।

बाल्यकालदेखि नै निडर र हक्की स्वभावका पहाडी आफ्नो इच्छा र निर्णयमा अडिग रहनु हुन्थ्यो । विद्यार्थी जीवनदेखि नै आफूभन्दा कमजोर अवस्थामा रहेका समकालीन तथा जुनियर हरुलाई सहयोग गनुपर्छ भन्ने भावनाले ओतप्रोत पहाडीको सहयोगी भावना जीवन कालभर कायम रह्यो । व्यक्तिगत रुपमा भन्ने हो भने राम्रो परिवारमा हुर्किएका पहाडीले जीवनमा धेरै कुरा प्राप्ति गर्न सक्ने हैसियत राख्नु हुन्थ्यो । तथापि ब्यक्तिगत लोलुपता उहाँमा कहिल्यै देखिएन । आफ्नो क्षमताले भ्याएसम्म अरुलाई सहयोग गर्न अग्रसर हुनुहुन्थ्यो ।

सहयोगी शिक्षक

राजनीतिका अतिरक्त शिक्षा क्षेत्रमा पनि पहाडीको अमूल्य योगदान रहेको पाइछ । संखुवासभाको मादी माद्यमिक ।विद्यालय मादीको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जुन लगानी गर्नु त्यो जिल्लावासीका लागि अनुकरणीय छ । आफू शिक्षक भएको समयमा विद्यालयमा अध्ययनका लागि बाहिरबाट आएका विद्यार्थीहरुलाई सर सापटी मात्र होइन विद्यालयमा लाग्ने शुल्क समेत तिरिदिने गरेको वास्तविकता तात्कालीन विद्यार्थीहरुले नै खुलाउँथे । तर, पहाडी आफैं भने यस्ताकुराहरु कहिल्यै कसैसँग खुलाउँन चाहानु हुदैन थियो । यही गुणका कारण पनि उहाँलाई असल शिक्षकको रुपमा चिन्ने गरेको कुरा तत्कालिन विद्यार्थीहरुबाट सुन्न पाइन्छ । मादीमा आफ्नै बाबु बाजेहरुले स्थापना गरेको मादी माविमा केही समय शिक्षकको रुपमा र केही समय प्रधानाध्यापकको जिम्मेवारीमा रहेर सेवा गर्नु भयो । शिक्षा क्षेत्रमा पहाडीलाई अघि बढाउन पारिवारिक रुपमा छलफल हुन्थ्यो । त्यतिबेला मादीमा शेषराज दाहाल, पुण्यप्रसाद दाहाल, भवानी प्रसाद दाहाल, मुक्तिनाथ दाहाल, ऋतुवर्ण दाहल,देवीप्रसाद दाहाल, ढुण्डीराज सत्याल, सुदर्शन घिमिरे, मोहनसिंह बस्नेत,केदारनाथ दाहाल लगायतका दाजुभाइहरुले पहाडीलाई अगाडि बढ्न पर्याप्त साथ सहयोग गर्नु भएको थियो । वि।सं २०३६ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर पूणर््काालीन रुपमा राजनीतिमा आवद्ध भई २०३६ सालदेखि २०५२ सालसम्म संखुवासभा नेपाली कांग्रेसको जिल्ला सभापतिको भूमिकामा रहेर जिल्लामा नेपाली कांग्रेसको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । पहाडीको नेतृत्वमा संखुवासभामा कांग्रेसको सांगठनिक सुदृढीकरणमा उहाँका समकालीन शिबकुमार गौली, पद्मनाथ रेग्मी, जीवन रेग्मी, बंशीराज रेग्मी,ईश्वर बहादुर खड्का, घनश्याम बस्नेत, यसनारायण श्रेष्ठ, ठाकुरसिंह लिंथेप लगायतका अग्रज नेताहरुको महत्वपूर्ण योगदान रहेको छ । आज संखुवासभामा नेपाली कांग्रेस जुन स्थानमा छ त्यसको सुत्रधारका रुपमा यी नामहरु नै अग्रपंत्तिमा रहने गर्दछन् ।

आफ्ना काका २०१५ सालमा धनकुटा क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य लिलानाथ दाहालको राजनीतिक तथा पारिवारिक प्रेरणाबाट दिक्षित पहाडीमा बाल्यकालदेखि नै नेपाली कांग्रेसको छाप पर्न थालेको थियो । लिलानाथ दाहालको शालीन, भद्र र कोमलताबाट प्रभावित पहाडीमा त्यसको ठीक विपरीत स्वभाव थियो । पहाडीमा हक्की निडर,निकै कडा र कहीं कतै अहंकारी स्वभावका झल्किन्थ्यो । कसैसँग झुक्ने वा कसैको प्रभावमा पर्ने स्वभाव कहिल्यै अनुभूति गरिएन । यही स्वभावले आफ्नो राजनीतिक जीवनमा नकारात्मक प्रभाव पारेको कुरालाई उहाँ स्वयं पनि स्वीकार्नु हुन्थ्यो ।

बनारसमा जुरेको संयोग

विद्यालयस्तरको अध्ययन पश्चात उच्च शिक्षा अध्ययनका लागि बनारस बस्दा नेपाली कांग्रेसका नेताहरुसँग उहाँको थप संगत हुने मौका मिल्यो । बनारसमा रहँदा जननायक वीपी कोइराला, कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह, सुवर्ण शमसेर,सुर्यप्रसाद उपाध्यायलगायतका नेताहरुसँगको बैचारिक संगतले प्रजातान्त्रिक सोच अझ खारिदै गएको उनका निकटस्थहरु बताउने गर्छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खुमबहादुर खड्का, विपिन कोइराला, शिबबहादुर खडकालगायतका नेताहरुसंगै सहयात्रा गर्नु भएका पहाडीले उ नै समकालीनहरु शक्तिमा रहँदा पनि कुनै किसिमको लाभ लिन खोज्नु भएन । २०५६ सालको निर्वाचनको समयमा समकालीन नेता खुमबहादुर खड्काको प्रचार–प्रसारका लागि स्वयमसेवक सहयोग गर्ने प्रस्तावलाई अस्वीकार गर्दै आफू सेता हात्ती पाल्न नसक्ने प्रतिकृया दिएको कुरा पटक पटक स्मरण गर्नु हुन्थ्यो ।

काकाको उदारता

२०३६ सालको जनमत संग्रहका लागि पार्टी सभापति तोक्नुपर्ने आवस्यकता भएपछि लीलानाथ दाहाल र पहाडीलाई साथै राखेर वीपी कोइरालाले सभापति बनाउने विषयमा छलफल चलाउनु भएछ । वीपीले दुई मध्ये एक जनालाई पार्टी सभापति बन्न आग्रह गर्नु भएछ । वीपीको आग्रहलाई नकार्न पनि नसक्ने र निर्णय पनि गर्न नसक्ने अवस्था आएपछि काका भतिज दुबै एकअर्काको मुख हेराहेर गर्न थाल्नु भएछ । त्यसपछि लीलानाथ दाहालले वीपीलाई विनम्रतापूर्वक पहाडी युवा हो, काम गर्ने जोस जाँगर पनि छ त्यसर्थ जिल्लाको पार्टी सभापति पहाडीलाई नै बनाउनु उपयुक्त हुने कुरा व्यक्त गरेपछि पहाडीलाई संखुवासभाको जिल्ला सभापति बनाएर लिलानाथ दाहाललाई धनकुटा र संखुवासभा हेर्नेगरी जिम्मेवारी दिएको कुरा योगेन्द्र विजय दाहालले बताउनु भयो ।

विकासवादी नेता

गोपाल पहाडीलाई विकासवादी नेताको रुपमा जिल्लाबासीले चिन्दथे । केन्द्रमा रहेर जिल्लाको विकासमा पहाडीले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । जिल्लाको विकास निर्माणका सवालमा पार्टी राजनीति भन्दा माथि रहेर सबै दलसँग समन्वय र सहकार्य गर्नसक्ने खुबी उहाँमा थियो । उहाँमा आफ्नो पहुँच बाहिरका आस्वासन बाँढ्ने र छलकपट गर्ने स्वभाव कहिल्यै महसुस भएन । सक्ने र आफ्नो पहुँचले भ्याउने काम गर्न अघि सर्ने र नसक्ने कामलाई अगाडि नै इन्कार गर्न सक्ने प्रष्टता भनौं या अहंकार कारण पहिलो भेटमा पहाडीसँग सम्पर्कमा जानेहरु कालो अनुहार बनाएर फर्कन्थे र पछि महसुस गर्दथे । उहाँको यही स्वभावका कारण पार्टीका कार्यकर्ताहरु पनि लामो समय सम्म टिकेर बस्दैनथे ।
पहाडी जनमतलाई सर्बोपरी ठान्नु हुन्थ्यो । उहाँ आफ्नो राजनीतिक जीवनकालमा अधिकांशत कोइराला परिवारको निकटस्थ रहेर काम गर्ने कार्यकर्ताको रुपमा परिचित हुनु भयो । वीपी,जीपी, शुसील कोइरालासम्म आईपुग्दा पार्टी संस्थापन पक्षको निकटस्थ मानिनु हुन्थ्यो ।

जनमतको सहज स्वीकार

२०५४ सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएका पहाडी २०४८, २०५६ र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट उम्मेद्धवार बनेर पराजित भएतापनि नेपाली कांग्रेस संखुवासभाले पराजयको अनुभूति गर्नु परेन । २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक कोटामा पर्ने प्रबल सम्भावनालाई त्यागेर प्रत्यक्ष निर्वाचन लड्नु भयो । त्यसबेला समानुपातिक सिटमा रहन पंक्तिकारले गरेको अनुरोधमा सटिक तर चित्त बुझ्दो जवाफ दिनुभयो । जिल्लाको परिस्थिति प्रतिकुल भएका कारण समानुपातिक सिटमा बस्न गरेको अनुरोधमा उहाँले ‘म समानुपातिक सिटबाट सभासद हुँदा मेरो जिल्लाका कार्यकर्ताले कम्युनिष्टहरुबाट खाएका सुम्ला मेटिन्छन रु भन्ने जवाफ दिनु भयो । प्रत्यक्ष निर्वाचनमा पहाडी पराजित भयो भने कांग्रेस कार्यकर्ताले विजय हासिल गर्छन मेरो चाहना कार्यकर्ताले पराजित हुनु नपरोस भन्ने हो ’भनेर आफ्नो जनमत प्रतिको बफादारी देखाउनु भयो ।
२०४६ साल पछिका दिनहरुमा पहाडीलाई जिल्लाका अग्रजहरुले मन,वचन र कर्मले सहयोग गर्दै आउनु भयो । त्यसबेला खास गरेर दुई नम्बर क्षेत्रको केन्द्र चैनपुर थियो ।२०४८ सालको निर्वाचनको कमाण्ड चैनपुरबाट सञ्चालन हुन्थ्यो । सेवक शाक्य, यसनारायण श्रेष्ठ, ईश्वर बहादुर खड्का, घनश्याम बस्नेत, थलकुमार लिंखा, रामगोपाल श्रेष्ठ, शंकरमान कँडेल, विना पौडेल,रामबहादुर बस्नेत, महेशप्रेमी उदासलगायतका नेता हरुको सहयोग रह्यो । मानबहादुर मझिया, दुर्गामणि देवान, जफत राई, रामकुमार जिमी, शुशीलराज दाहाल हरुको साथ सहयोग थियो । पुुुर्ब पार्टी सभापति एवम राज्य मन्त्री तारामान गुरुङ, उषा कार्की, तेजबहादुर खत्री, ज्ञानबहादुर कार्की, महेश थपलिया, दिपन कुमार श्रेष्ठ, राजकुमार राई, संशेरबहादुर राई, टंक राई ताप्चेन भोट, भैरङ धर्चे भेटेलगायतका नेता कार्यकर्ताहरु पहाडीको आखिरी अवस्थासम्म साथ रहेतापनि पछिल्लो समयमा धेरै छिन्नभिन्नको अवस्था सृजना भयो ।

राष्ट्रवादी नेता

स्वर्गीय पहाडी, कांग्रेसको जात, धर्म भनेको नै प्रजातन्त्र हो भन्ने कुरामा विश्वास गर्ने आदर्शवादी नेता हुनुहुन्थ्यो । प्रजातन्त्र नै कांग्रेसको धर्म हो भन्ने धारणा हरेक ठाउँमा दिने मन्तव्यमा व्यक्त गर्नु हुन्थ्यो । जाति, धर्म भनेको एउटा मान्छेले धारण गरेका कुरा हुन जसलाई लिएर पारस्परिक बैमनस्यता सृजना र्गनु हुदैन भन्ने सोचका धनी पहाडीले आफ्नो कार्यस्थलमा जहिल्यै पनि विभेदको विरुद्धमा उभिनु हुन्थ्यो । एउटा कांग्रेसले सच्चा कार्यकर्ता हुनका लागि जाति, भाषा, धर्म, लिङ्ग र अर्थसम्वधी विभेदहरुबाट मुक्त रहनु पर्छ भन्ने कुरा कार्यकर्ताहरुलाई पहिलादेखि नै भन्ने गर्नु हुन्थ्यो । राष्ट्रबादी सोचका धनी पहाडी आफ्ना हरेक मनतव्यमा नेपाल कसको नेपालीको, हामी को हौ नेपाली भन्नु हुन्थ्यो ।

आदर्शवादी र स्पष्ट नेता

स्वर्गीय पहाडी त्यागी र आदर्शवान नेताको रुपमा स्थापित हुनु भयो । आफ्नो mव्यतिगत आकांक्षलाई पुर्णरुपमा विस्थापित गरेर शान्ति,लोकतन्त्र र स्थिरताको पक्षमा उभिन रुचाउने पहाडी आजीवन अविवाहित रहनु भयो । जीवन पूर्णरुपमा प्रजातन्त्रको पक्षमा उत्सर्जन गरेर पनि सदैव संघर्षै संघर्षमा बाँच्न विवस हुनु भयो । सादा जीवनको पक्षपाति भएकाले उनमा विलाशिताको गन्ध कहिल्यै महसुस गरिएन । पहाडी आफ्नो परिवार र राजनीतिक कार्यकर्ताबीच समान दृष्टिकोंण राख्नु हुन्थ्यो । पहाडीका कारण परिवारका कुनै पनि सदस्यले लाभ लिएको उहाँको जीवनकालमा देखिएन । राजनीतिक कार्यकर्ताप्रति पहाडीको जुन दृष्टिकोंण थियो पारिवारिक रुपमा त्यो भन्दा फरक दृष्टिकोंणको अनुभूति कहिल्यै गरिएन ।
आफ्नो जीवनमा ६ वर्ष जेल मै व्यतित गर्नु भएका स्वर्गिय पहाडीले कहिल्यै त्यसको प्रतिफल खोजेको पाइएन । खानपानमा सोखिन भएता पनि आफूलाई नै मेटाएर सोख प्रदर्शन गरेको पनि पाइएन ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती शासन व्यवस्थाको सुत्रपात गरेपछि धेरै कांग्रेसका नेता कार्यकर्ताहरु पञ्चायतमा प्रवेश गरे । पछिल्लो समयमा कांग्रेसले नै नेता कार्यकर्ताहरुलाई राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लड्न पठाउने निर्णय गर्यो त्यस्तो बेलामा पनि कांग्रेस नछोड्नु भएका पहाडीको राजनैतिक निष्ठामाथि कहिल्यै विचलन आएन ।

सफल राजनीतिक खेलाडी

२०४६ साल अघि कृष्णप्रसाद भट्टराइसँग निकट रहेर पनि परिवर्तन पछिको निर्वाचनमा स्वयम किसुनजीलाई हराउन लागेको भनेर सर्बत्र आलोचना समेत भएको थियो । त्यतिमात्र होइन २०५१ सालको मध्यावधी निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नं २ बाट उम्मेद्धवार बनेकी पियुस दाहललाई पर्याप्त सहयोग नगरेको आरोपको पनि पहाडीले सामना गर्नु पर्यो तर यस्ता घटनाहरुले स्वयम पहाडीको राजनीतिक उचाईमा खासै प्रभाव परेको देखिएन ।

दुर्लभ संयोग

पहाडी अस्पतालको शैयामा रहँदा ठट्टा गर्दै भन्नुहुन्थ्यो कतै माइलाबा ९लीलानाथ० र मेरो मृत्यु एकैदिन त हुदैन रु झण्डै संयोग पनि तेस्तै हुन पुग्यो । लीलानाथको निधन भाद्र ४ गते भएको थियो पहाडीको निधन भाद्र ३ गते भयो । राजनीतिक रुपमा पहाडी र लीलानाथ गुरुचेला हुनुहुन्थ्यो भने पारिवारिक रुपमा काका भतिज । लीलानाथ दाहाल विमारी भएर उपचार गराउन दिल्ली लाँदा उनै पहाडीले लिएर जानु भएको थियो । डेढ महिना सम्मको उपचारपछिसाथै लिएर पर्किनु भएको थियो । पहाडी बिमारी पर्दा उपचारका लागि उनै लीलानाथ दाहालका सुपुत्र योगेन्द्रविजय दाहलले दिल्ली लिएर जानु भयो । यस्तो संयोग कमैलाई मात्र पर्ने गर्दछ । पछिल्ला दिनहरुमा दुबै मृगौलाले काम गर्न छोडेको अवस्थामा अस्पतालको नियमित बसाई र उपचारको क्रममा पूर्वराज्यमन्त्री दीपक खड्काको महत्वपूर्ण योगदान रहेको थियो । नेपालका अस्पतालमा रहदा होस वा उपचारकै क्रममा दिल्ली लाने होस खड्काले आर्थिक रुपमा निकै भरथेग गरेका कुराहरु त्यसबेला चर्चा हुन्थे । तर,पछिल्लो समयमा उनै खड्का र पहाडीबीचको सम्बन्धमा केही दरार उत्पन्न भएको कार्यकतौहरुबीच चर्चा परिचर्चा हुनेगरेको थियो ।
संखुवासभा जिल्लाको मादी रामवेनी १ सिरिसेबाट २००२ मा सुरु भएको पहाडीको जीवन यात्रा काठमाडौ मेडीकल कलेजको २६ नं बेडमा पुगेर २०७० साल भाद्र ३ गते टुंगियो ।

निधनपछि उपेक्षा

उहाँको निधन भएको पनि आज ६ वितिसक्यो । यो ६ वर्षको दौडानमा नेपालको राजनीतिमा धेरै उताव चढाव आएतापनि नेपाली कांग्रेसले संस्थागत रुपमा ६ वर्षसम्म पहाडीलाई सम्झनु आवस्यक ठानेन । उहाँलाई भर्‍याङ बनाएर धेरै विद्यार्थी, तरुण, ट्रेड युनियन र पार्टीका नेता बने । उहाँको अघिपछि लागर धेरैले राजनीतिक फाइदा पनि लिए तर पहाडीको निधन पश्चात कमसेकम वार्षिक रुपमा भेला भएर उहाँको योगदान कदर गर्ने सामान्य राजनीतिक संस्कार समेत पार्टीले देखाउनु दुःखत पक्ष हो । पार्टीको केन्द्रीय नेतालाई न केन्द्रले सम्झ्यो न त जिल्लाले नै । जीवित रहुञ्जेल खातका खात फूलका गुच्छा र माला चढाउने कार्यकर्ताहरुले मृत्युपछि शब्दार्पणबाट समेत पहाडीलाईसम्मान गर्न सकेनन । आउने दिनमा अरु कुनै नेताको हकमा यस किसिमको ंउपेक्षा नहोस ।
पटक पटक चुनाव हारेर पनि राजनीति जितेका अथक राजनीतिक योद्धा गोपालराज पहाडीप्रति हार्दिक

सम्बन्धित समाचार