राजकुमार राईको उपन्यास ‘किवाहाङ’को परिचर्चा



खाँदबारी । साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’को परिचर्चा गरिएको छ । पत्रकार महासंघ संखुवासभाको आयोजनामा खाँदबारीमा उपन्यास माथी परिचर्चा गरिएको हो ।

सनिबार खाँदबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकारहरु ताराबहादुर बुढाथोकी, भरत कुलुङ र पत्रकार जीवनाथ खनालले पुस्तकको परिचर्चा गरेका हुन् । परिचर्चाकारहरुले पुस्तकको सवल पक्ष र सुधारात्मक पक्षहरुको चर्चा गरेका छन् ।

उपन्यासमा गोरखा फौजले भोगेका भोगाईहरुको कथा समेटिएको परिचर्चाकारहरुले बताएका छन् । विश्वयुद्धको समयमा किवाहाङ नामको पात्र नेपालबाट युद्धभुमीमा पुगेर भोगेको विविध घटनाहरु समेटिएकोले एक ऐतिहासिक उपन्यास रहेको परिचर्चाकारहरुले बताएका छन् । त्यस भित्रका केहि तथ्याङ्क तथा घटनाक्रमहरु मिलाउन आवश्यक रहेको समेत परिचर्चाकारहरुले औँल्याएका छन् ।

कार्यक्रममा बोलनुहुँदै उपन्यासकार राईले पुस्तक भित्रको पात्रहरु काल्पनिक भएपनि कथा सत्यमा आधारित रहेको बताउनुभयो । उपन्यास लेखनको क्रममा आफुले पर्याप्त अुनुसन्धान गरेर अन्तिम रुप दिएको जानकारी दिनुभयो । उपन्यास किवाहाङको दोश्रो भाग समेत प्रकाशन हुने उपन्यासकार राईले जानकारी दिनुभयो ।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार