खाँदबारी । संखुवासभाको अरुण तेश्रो प्रवेश मार्ग छ्याङ्कुटी–पुखुवा सडक खण्डको छुट मुआब्जा गत मंसिरबाट जिल्ला प्रशासन कार्यालय संखुवासभाले वितरण गर्यो । लामो संघर्षपछि प्राप्त गरेको आफ्नो जग्गाको मुल्यबाट प्रति रोपनी २५ हजार रुपैयाँका दरले संघर्ष समितिले रकम उठाउँदै गरेको भित्रि चर्चा सुनिएको थियो ।
समितिका केहि पदाधीकारीहरुले जबरजस्ती रकम असुलीरहेको चर्चापछि सोको खोजी गर्ने क्रममा एकै ब्यक्तिबाट ६ लाख रुपैयाँसम्म असुलेको पाईएको छ । अरुण तेश्रो छुट मुआब्जा संघर्ष समितिका स्थानीय उपाध्यक्ष चिचिला गाउँपालिका २ आहालेका कुमार गुरुङले सोहि गाउँका दोर्ची शेर्पालाई ठगी ६ लाख रुपैयाँ लगेको पाईएको हो ।
शेर्पाको खातामा मुआब्जा रकम जाने वित्तिकै समितिका स्थानीय उपाध्यक्ष गुरुङले धम्किपूर्ण ब्यावहार गरि पैसा लिएर गएको पिडित शेर्पाले बताउनुभयो । गत माघ २९ गते आफ्नो खातामा पैसा आएको र ३० गते गुरुङले आफुबाट पैसा लिएर गएको पिडित शेर्पाले बताउनुभयो । मुआब्जा दिलाउनेहरुलाई स्टेप, स्टेप बाँड्नु पर्ने भन्दै पैसा लिएको र उक्त रकम बारे कसैलाई सुनाए नराम्रो हुने धम्कि दिएको शेर्पाले बताउनुभयो । गुरुङको धम्किका कारण हालसम्म कतै उजुरी नदिएको समेत शेर्पाले बताउनुभयो । आफुबाट लिएर गएको पैसाबारे समितिका सचिव साङ्घे शेर्पासँग कुरा नमिलेर झगडा नै परेको भनेर अरुले सुनाएको बाहेक स्टेप स्टेप ककस्ले बाँड्यो भन्ने बारे आफुलाई थाहा नभएको उहाँले बताउनुभयो ।
पैसा लिएर गएको बारे कसैलाई नसुनाउन धम्कि दिए पनि अब सम्बन्धित निकायमा उजुरी गर्ने तयारी गरेको शेर्पाले बताउनुभयो । ‘सबैबाट पैसा उठाउने होला जस्तो लाग्यो, तर पछि सुन्दा बाठोटाठोबाट नउठाएको जस्तो पनि सुने’, शेर्पाले भन्नुभयो । ‘सबै तिर उजुरी गर्दा मेरो पैसा फिर्ता पाउँछु होला नी ?’, शेर्पाले प्रश्न गर्नुभयो ।
यस विषयमा चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पासँग बुझ्दा यसबारे भित्रभित्र चर्चा रहेकाे थाहा पाएपछि थप खाेजी गरिरहेकाे बताउनुभयाे । त्यस्ता ठगिएकाहरुकाे खाेजी गर्ने क्रममा केहि साेझा, सिधा ब्यक्तिहरु साँच्चै ठगिएकाे पाईएकाेले गाउँपालिकाको न्यायिक समिति लगायतका निकायहरुमा उजुरी गर्न सुझाव दिईसकेको बताउनुभयो । सम्बन्धित ब्यक्तिहरुले उजुरी दिएलगत्तै प्रकृया अगाडी बढाईने अध्यक्ष शेर्पाले बताउनुभयाे ।
ठगि गरेका ब्यक्तिहरुकाे ‘स्टेप बाई स्टेप’ पैसा बाँड्नु पर्ने जस्ता भनाईले गाउँपालिकाका जनप्रतिनीधिहरु समेत आसंकाको घेरामा पर्ने भएकोले यसलाई गम्भिर भएर अनुसन्धान गर्नु पर्ने अध्यक्ष शेर्पाको भनाई छ । छुट मुआब्जा पिडितहरुलाई मुआब्जा रकम दिलाउन पालिकाका जनप्रतिनीधिहरुको मेहेनत, जिल्लाका विभिन्न दल, नेताहरु, जनप्रतिनीधि, सम्बन्धित कार्यालयहरु, पत्रकारहरु लगायत सवै पक्षको योगदान रहेको उल्लेख गर्नुहुँदै सोझा सिधा जनतालाई ठग्नेहरु कोहि पनि छोड्न नहुने अध्यक्ष शेर्पाले बताउनुभयो । मुआब्जा रकम ठगिमा परेका जो कोहीले पनि आफ्नो वडाअध्यक्ष वा आफुलाई (पालिका अध्यक्ष)लाई तत्काल सम्पर्क गर्न अनुरोध गर्नुभयो ।


प्रतिक्रिया