खाँदबारी । सोमबार दिउँसो करिब पौने १२ बजेतिर कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
लामिछानेका अनुसार लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बरको टिपर दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन्। टिपरचालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुँयाल घाइते भएका हुन् ।
घाइते सहचालक फुँयालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
चालक राउतको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया